गएकाे तीन दिनमा बाढी पहिरोकाे कारण २५ जनाको मृत्यु, ५७ जना बेपत्ता

निरन्तर न्यूज
२७ असार २०७७, शनिबार ०८:५२

काठमाडौं । तीन दिनदेखि परेकाे लगातारको वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर २५ जनाको मृत्यु भएको छ । बाढी र पहिराेमा परी ५७ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय आपत कार्य सञ्चालन केन्द्रका अनुसार २६ गते साँझ ५ बजेसम्मकाे तथ्यांक अनुसार बाढी, पहिरोका कारण म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, तनहुँ, जाजरकोट, सिन्धुपाल्चाेकलगायतका जिल्ला प्रभावित भएका छन् ।

बिहीबार सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा बाढी र पहिरोमा परी २ जनाको मृत्यु भएको थियो । पहिरोमा २१ बेपत्ता भएका छन् ।

शुक्रबार कास्की, लमजुङ, म्याग्दी, जाजरकोट लगायत ८ जिल्लामा आएको प्रकोपमा २३ जनाको मृत्यु भएको छ । ३६ बेपत्ता भएका छन् ।

शुक्रबार कास्की र जाजरकोटमा ७–७ गरी १४ जनाको मृत्यु भएको छ ।

कास्कीको पोखरा–१८, सराङ्कोटको गोठादीका टंकबहादुर थापा र पोखरा–२६ का दुर्गाबहादुर सुनारको घर पहिरोमा परेर बगाउँदा ७ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा पहिरोले दुई घर बगाउँदा ७ जनाको मृत्यु भएको छ । ५ जना अझै बेपत्ता छन् ।

म्याग्दीमा ३ जनाको मृत्यु भएको छ । म्यादीको धौलागिरि गाउँपालिका–७, ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दी प्रहरीले जनाएकाे छ। म्याग्दीमा ३१ जना अझै बेपत्ता छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*