बायर्नसँग लज्जास्पद हार व्यहोर्दै बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरियो
काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा स्पेनिस क्लब बार्सिलोनाले लज्जास्पद हार व्यहोरेको छ । गोलको वर्षा भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले बार्सिलोनालाई ८-२ को फराकिलो अन्तरले हराएको हो ।
बार्यनको जीतमा थोमस मुलर र फिलिपे कौटिन्होले २-२ गोल गरे भने इभान पेरेसिच, सर्ज ग्न्याब्री, जोसुवा किमिच र रोबर्ट लेवान्डोस्कीले एक-एक गोल गरे । बार्सिलोनाले दुईमध्ये एक गोल उपहार पाएको थियो भने लुइस स्वारेजले एक गोल गरेका थिए ।
खेलको चौथो मिनेटमै मुलरको गोलबाट बायर्नले अग्रता लिएको थियो । तर सातौं मिनेटमा बायर्नका डेभिड अलाबाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । त्यसपछि पेरिसिचले २१औं मिनेटमा, ग्न्याब्रीले २७औं मिनेटमा, र मुलरले ३१औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै बायर्नले ४-१ को अग्रता लिएको थियो ।
बायर्नसामू निरीह बनेको बार्साका लागि दोस्रो हाफको ५७औं मिनेटमा स्वारेजले गोल गर्दै गोलअन्तर घटाउने प्रयास गरेका थिए । तर ६३औं मिनेटमा किमिचले बार्यनका लागि पाँचौ गोल थपे । लेवान्डोस्कीले ८२औं मिनेटमा तथा कोटिन्होले ८५औं मिनेटमा र ८९औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता अझ फराकिलो बनाएका थिए ।
जितसँगै अन्तिम चारमा स्थान पक्का गरेको बायर्नले फाइनल प्रवेशका लागि म्यान्चेस्टर सिटी र लियोनको विजेतासँग खेल्ने छ ।
अन्तिम क्वाटरफाइनल खेलमा आज राति सिटी र लियोन खेल्ने छन् ।