नेकपा प्रवक्ता श्रेष्‍ठमाथि प्रधानमन्त्रीका सल्लाकार सूर्य थापाको गम्भीर आरोप

निरन्तर न्यूज
३० भाद्र २०७७, मंगलवार ०९:५८

काठमाडौं। नेकपा नेताका विरुद्ध सामाजीक सञ्जालमा आलोचना गर्न नपाउने भन्‍ने पार्टीको कडा अनुशासनको उल्लंघन प्रधानमन्त्रीकै सल्लाहकारबाट फेरि सुरु भएको छ ।

पार्टीको विवाद समाधानका लागि भएको गृहकार्यपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भई बसेको स्थायी कमिटि बैठकले अबदेखि कार्यकर्ताले सामाजिक सञ्जालमा कुनैपनि नेताविरुद्ध आलोचना गर्न नपाउने भनेको थियो ।

स्थायी कमीटी बैठकमा पेश गरिएको प्रस्तावमा ‘पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्‍ने र पार्टी हित विपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाईका साथ रोक्न जिम्मेवार कमरेडहरु र सम्बद्ध सबैलाई यो बैठक निर्देशित गर्दछ’ भनिएको थियो ।

पार्टीको उक्त प्रस्ताव तयार भईसकेपछि नै नेकपा केन्द्रीय सदस्य तथा पत्रकार विष्णु रिजालले असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमै व्यङ्ग्य गरेका थिए । पूर्वप्रधानमन्त्री माधव नेपाल निकट नेता रिजालले व्यङ्ग्य गर्दै भनेका थिए– ‘नेकपा कम्ती पारदर्शी छैन !’

यता स्थायी कमिटि बैठक सकिएको २४ घण्टा नबित्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमै आलोचना गरेका छन् । थापाले पार्टी अध्यक्ष प्रचण्ड र प्रवक्ता श्रेष्ठको पटकपटक आलोचना गर्दै आएका छन् । पछिल्लो समय विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै नियुक्ति गर्दा राम्रो हुने भन्‍ने प्रवक्ता श्रेष्ठको अभिव्यक्तिको विरोध थापाले गरेका हुन् ।

प्रवक्ता श्रेष्ठले ‘नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकोले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विस्वस्त छु’ भनेर गरेको ट्‍वीटलाई थापाले जवाफ दिँदै कडा टिप्पणी गरेका छन् । थापाले भनेका छन्– ‘कुलमान घिसिङको पक्ष विपक्षका यतिबेला आ-आफ्ना मत अभिमत होलान् । मलाई यसमा रुची छैन तर एक अवधी पुरा गरेर विदा भएका व्यक्तिका पक्षमा पार्टीका प्रवक्ताको यस खुल्ला लबिङले कतै…कुम्लो बोकी ठिमीतिर जस्तो पो भयो की ?’

थापाले प्रवक्ता श्रेष्ठले गठन गरेको स्वयम्सेवा दस्ताको पनि आलोचना गरेका छन् ।

यस्तो छ थापाको दुई बुँदे टिप्पणी-

१. कुलमान घिसिङकाे पक्ष/विपक्षका यतिबेला आ-आफ्ना मत/अभिमत हाेलान् । मलाई त आफ्ना निम्ति याे नजाने गाउँकाे बाटाे साेध्ने झमेलामा पर्न रुचि छैन ।
तर एक अवधि पूरा गरेर हिजाे विदा भएका व्यक्तिको पक्षमा पार्टीका प्रवक्ताकाे यस खुल्ला लबिङले कतै…कुम्लाे बाेकी ठिमीतिर जस्ताे पाे भयाे कि ?

“नेपाल आमाका सपूत” काे पुनर्नियुक्तिकाे कानुनी व्यवस्था एउटा र गैरसपुतकाे अर्कै हुने हाे कि प्रक्रियामा प्रतिष्पर्धा गरेर नयाँ नियुक्तिमा पर्नुपर्छ ? सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने याे विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हाे कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ ? पार्टीकाे हाल जिम्मेवारी यही हाे र ?

सबै नेताहरूले आफ्नाे निकट वा मन परेका व्यक्तिको यसैगरी दबाब र व्यक्तिगत मूल्यांकन सार्वजनिक गर्दै हुनेलाई नहुने र नहुनेलाई हुनेतिर धकेल्नु स्वस्थकर हुन्छ र ? सरकारकाे मूल्यांकन, परामर्श, प्रक्रिया र निर्णयमा यसाे गरेर के गर्न खाेजिएकाे ? पार्टीमा ऊर्जा क्षेत्र हेर्ने जिम्मा र गृहकार्यकाे संस्थागत दायित्व पनि हाेइन, अनि याे तरिका किन ? के आशय, अभिप्राय र नियतबाट उत्प्रेरित हाेला ? बुझ्नै पाे कठीन भयाे !

२. प्रवक्ताकाे व्यक्तिगत सचिवालयअन्तर्गत “…अहिले आए आाँसु”जस्ताे गरी निजी हिसाबमा “स्वयंसेवा दस्ता” परिचालनकाे घाेषणा अर्काे उदेकलाग्दो कार्य जानकारीमा आयाे । याे संगति र सराेकार नै नभएकाे कुरा भयाे । चैत १० गतेदेखि लकडाउन गरेर यहाँसम्म आइपुग्दा सिंगाे देश काेराेनासँग जुध्न सक्रिय छ ।

जसकाे पार्टी जिम्मेवारी स्वयंसेवक परिचालन हाेइन र त्यस्ताे कार्यविभाजन कहींकतै छैन । यसमा एकाएक किन रुचि बढेकाे हाेला ? जुन काम सरकार, स्वास्थ्य मन्त्रालय, सिसिएम्सी र राज्यका विभिन्न निकायहरू लागेर गरिरहेका छन्, अनि पार्टी प्रवक्ताले यसरी स्वयंसेवक परिचालन गर्ने, त्याे पनि आफ्नाे सचिवालयअन्तर्गत व्यक्तिगत निर्णयबाट ? यसकामकाे लागि संस्थागत निर्णय, अख्तियारी र अनुमाेदन पनि आवश्यक नै नपर्ने ? वितेका छ महिनासम्म केही गर्नुनपर्ने, साताैं महिना लाग्ने बेला याे के गर्न खाेजिएकाे हाेला ? आपतविपद भनेकाे अहिले धुन बजाउँदै आएकाे त हाेइन हाेला ? कि यी दुबै संस्थागत निर्णय नै उहाँबाट सार्वजनिक गरिएकाे हाे ?

म प्रचार विभागकाे उपप्रमुखकाे जिम्मेवारीमा रहेका कारण यसमा निकै खसखस लागेर आयाे । सार्वजनिक रूपमा प्रचारित विषय हुनाले सार्वजनिक रूपमै यी दुई जिज्ञासा राख्न उपयुक्त सम्झेकाे सम्बद्ध सबैमा निवेदन गर्दछु । श्राेत : साझापाेष्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*