कलङ्की–नागढुङ्गा सडक मर्मतकाे काम शुरु

निरन्तर न्यूज
३१ भाद्र २०७७, बुधबार ११:४२

काठमाडाैं। गत वर्ष निर्माण सम्पन्न भएको कलङ्की–त्रिपुरेश्वर–नागढुङ्गा सडकमा मर्मतको काम भइरहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो ।

त्रिपुरेश्वरदेखि कलङ्कीसम्मको मर्मत भइसकेकाले कलङ्कीदेखि नागढुङ्गा खण्डमा मर्मत भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण सम्पन्न भएपछिको १३ महिनासम्ममा जुनजुन कम्पनीले सडक निर्माण गरेको हो, समस्या आउँदा उसैले मर्मत गर्नुपर्छ । ‘यस खण्डमा देखिएको त्रुटि सच्याउने काम भइरहेको छ’ , प्रमुख अधिकारीले भने, ‘यो खण्डमा काम भएपछि नै डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गरिनेछ ।’

यो सडक उपत्यकाको विस्तारित सडकमध्ये सबैभन्दा पहिले निर्माण सकिएको सडक हो । पाँच वर्ष पहिले नै सडक विस्तारका लागि ठेक्का सम्झौता भए पनि सडकसँगै घर भएका स्थानीयवासीको अवरोधका कारण दुई वर्षसम्म निर्माण ठप्प थियो । स्थानीयवासीले घर भत्काउन नमानेपछि सरकारले उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा चावहिल–साँखु सडकसँगै यो सडकको निर्माण भएको थियो ।

उपलब्ध चौडाइमा मात्रै सडक निर्माण गर्दा झण्डै आधा लम्बाइमा मापण्डानुसार चौडाई कायम भएको छ । मापदण्डानुसार २२ मिटर चौडाई कायम भएका स्थानमा मात्रै आयोजनाले दुबैतर्फ हिमपाइप र पैदलयात्रु मार्ग निर्माण गरेको छ । चौडाई कम भएका स्थानमा सडक उपलब्ध भएपछि नै पैदलयात्रु मार्ग निर्माण गरिनेछ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*