बुहारी मार्ने जेठाजुलाई थुनामा

निरन्तर न्यूज
१३ आश्विन २०७७, मंगलवार १२:१४

काभ्रेपलाञ्चोक । जिल्लाअदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका ८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शंकरलाई ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ।

बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका थिए। रञ्जनाको पति शंकरले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन्।

जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए।

पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भूकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो। रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*