राजस्थानलाई हराउँदै कोलकाता आइपिएलको प्लेअफ नजिक

निरन्तर न्यूज
१७ कार्तिक २०७७, सोमबार ०७:१४

काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा कोलकाता नाइट राइडर्सले जीत हात पारेको छ । प्रतियोगितामा सातौं जीत दर्ता गर्ने क्रममा उसले राजस्थान रोयल्सलाई ६० रनले पराजित गर्‍यो ।

कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरा २० ओभर खेल्दै केवल १३१ रन मात्र बनाउन सक्यो । पहिलो ओभरमै १९ रन प्रहार गरेको भएपनि राजस्थान त्यसपछि धर्मराएको थियो । राजस्थानका लागि जस बट्लरले सर्वाधिक ३५ रन बनाए भने राहुल तेवातियाले ३१ रन बनाए । कोलकाताका प्याट कमिन्सले उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारे । त्यसैगरी शिवम मावी र वरुण चक्रवर्तीले २ २ तथा कमलेश नगरकोटीले १ विकेट लिए ।

यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ रनको योगफल तयार पारेको थियो । उसका लागि कप्तान इयान मोर्गानले अविजित ६८ रन बनाउँदा राहुल त्रिपाठीले ३९ र शुभमन गिलले ३६ रन बनाए । राजस्थानका राहुल तेवातियाले ३ कार्तिक त्यागीले २ तथा जोफ्रा आर्चर र श्रेयस गोपालले १ १ विकेट लिए ।

यस महत्वपूर्ण जीतसँगै २ अंक बटुलेको कोलकाताको १४ अंक भएको छ र चौथो स्थानमा छ । यद्यपि नेटरनरेट अझै दोस्रो स्थानको बैंगलोर र तेस्रो स्थानको दिल्लीको भन्दा कम भएका कारण कोलकाता अन्य नतिजामा भर पर्नुपर्ने हुन्छ ।

यदि मङ्गलबार हैदराबादले मुम्बईलाई हराएमा हैदराबाद प्लेअफमा पुग्‍नेछ भने हैदराबाद पराजित भएमा कोलकाता नै छनौट हुनेछ । त्यसअघि सोमबार दिल्ली र बैंगलोरबीचको खेलमा दिल्ली वा बैंगलोरमध्ये जुनसुकै टोलीले ठुलो अन्तरको जीत निकालेमा र हैदराबादले पनि मुम्बईलाई हराएमा कोलकाता र हैदराबाद दुवै छनौट हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*