आइपीएल : हैदराबादले लिग लिडर मुम्बई इन्डियन्सलाई हरायाे

निरन्तर न्यूज
१९ कार्तिक २०७७, बुधबार ०९:१७

काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले जीत हात पारेको छ । जित्‍नैपर्ने दबाबमा रहेको भएपनि हैदराबादले लिग लिडर मुम्बई इन्डियन्सलाई सहजै १० विकेटले पराजित गर्‍यो ।

शारजाहमा मुम्बईले दिएको १५० रनको लक्ष्य हैदराबादले १७.१ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको हो । हैदराबादका लागि कप्तान एवम् ओपनर डेभिड वार्नरले अविजित ८५ रन बनाए भने अर्का ओपनर ऋद्धिमान साहाले ५८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । मुम्बईका लागि कायरन पोलार्डले सर्वाधिक ४१ रन बनाए भने सुर्यकुमार यादवले ३६ र इशान किशनले ३३ रन बनाए । हैदराबादका सन्दीप शर्माले ३, जेसन होल्डर र शाहबाज नदीमले २-२ तथा राशिद खानले १ विकेट लिए ।

यस जीतसँगै हैदराबाद १४ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लँदै प्लेअफका लागि छनौट भएको छ भने छनौट भइसकेको बैंगलोर नेटरनरेटका आधारमा चौथो स्थानमा झरेको छ ।

हैदराबादले खेल जितेसँगै प्लेअफ पुग्‍ने समीकरणअनुसार यस खेलको नतिजा कुरेको कोलकाता प्रतियोगिताबाट बाहिरिएको छ । १४ अंक नै भएपनि कोलकाता नेटरनरेटमा पछि परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*