सबैलाई आस जगाएकाे मोडर्ना भ्याक्सिन, कति सुरक्षित ?

निरन्तर न्यूज
५ मंसिर २०७७, शुक्रबार ०७:२४

हेटाैँडा । चीनबाट पहिलो पटक कोरोना भाइरसको संक्रमण भेटिएको एक वर्ष पूरा भयो । यो अवधिमा १३ लाख ४७ हजारभन्दा बढी मानिसहरुले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

नोभेम्बर १७ मा २०१९ मा हुवावे प्रान्तको एक ५५ वर्षीय पुरुषमा देखा परेको यो रोगबाट पाँच करोड ६६ लाखभन्दा बढी संक्रमित भएका छन् ।

जनवरी महिनासम्म आइपुग्दा चीनका वैज्ञानिकले कोभिड १९ संक्रमण फैलिएको बताए । चीन वुहानमा हुँदै एशिया, युरोप र अमेरिकामा भाइरस फैलियो । ११ मार्च २०२० को दिन विश्व स्वास्थ्य संगठनले यसलाई वैश्विक महामारीको रुपमा घोषणा गरेको थियो । महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो धक्का लागेको छ ।

नयाँ भाइरस भएका कारण यसको बारेमा अनुसन्धान गर्नका लागि कठिन थियो । तर लामो अनुसन्धानपछि देशहरु खोप निर्माण कार्यमा अघि बढे । यसको परिणामस्वरुप लामो समयदेखि प्रतिक्षा गरेको खोप परीक्षणका नतिजाहरु सकारात्मक आउन थालेका छन् । धेरै खोप निर्माण कार्य अन्तिम चरणमा छ । अन्तिम चरणमा रहेका भ्याक्सिनमध्ये मोडर्ना भ्याक्सिन ९४.५ प्रतिशत सफल भएको दावी गरिएको छ ।

मोडर्ना भ्याक्सिन कहिले आउँछ ?

भ्याक्सिन निर्माण गर्ने दौडकाबीचमा मोडर्ना एमआरएनए कोभिड १९ भ्याक्सिन सबैभन्दा सफल र सुरक्षित खोपको रुपमा अगाडि आएको छ । यस भ्याक्सिन निर्माणमा संलग्न कम्पनीहरुले तयार गरेको डाटाअनुसार ९४.५ प्रतिशत सफल भएको दावी गरिएको छ ।

यसरी आएको सकारात्मक परिणामप्रति अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फोचीले ‘अदभूत प्रभाव’ भन्दै खुसी प्रकट गरेका छन् ।

अन्य कम्पनीहरुले निर्माण गरेको खोपको प्रभावकारिताभन्दा मोडर्ना भ्याक्सिनको प्रभावकारिता बढी देखिएको छ । प्राथमिकतामा परेका समूहलाई यही डिसम्बरबाट भ्याक्सिन लगाउन सुरु गर्ने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

खोप परीक्षणमा संलग्न स्वयंसेवक समूहमा कुनै प्रकारको साइड इफेक्ट नभएको र कसैबाट पनि गुनासो नआएको मोडर्नाका प्रवक्ताहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार मोडर्ना एमआरएनए भ्याक्सिन सुरक्षित र भरपर्दो रहेको छ ।

भ्याक्सिन निर्माताहरुले आउँदो महिनासम्म दुई करोड डोज निर्माण गरिसक्ने बताएका छन् । यसलाई भण्डारण गर्न फाइजरको तुलनमा सहज छ र सामान्य न्यून तामक्रममा पनि भण्डारण गर्न सकिन्छ । यसका लागि –२ देखि ४ डिग्री सेल्सियसको आवश्यकता हुन्छ र ३० दिनसम्म रेफ्रिजेरेटरमा समेत भण्डारण गर्न सकिने हुँदा भौगोलिक विविधता भएका देशहरुमा समेत यस भ्याक्सिनलाई सहजरुपमा पु¥याउन सकिने बताइएको छ ।

भ्याक्सिनले कसरी काम गर्छ ?

मोडर्ना खोपले कृत्रिम एमआरएनएको प्रयोग गर्दछ जसमा कोरोना भाइरसमा रहेको स्पाइक प्रोटिन जस्तै प्रोटिन निर्माण गर्न सक्छ । जब कुनै व्यक्तिलाई भ्याक्सिन दिइन्छ, यसले नदेखिने गरी शरीरमा स्पाइक प्रोटिन निर्माण गर्नका लागि निर्देशन दिन्छ ।

शरीरमा भएको इम्युन सिस्टमले उक्त प्रोटिनलाई प्राप्त गर्दछ, यसले विस्तारै सुरक्षा प्रदान गर्ने एन्टिबडी निर्माण गर्ने कार्य सुरु गर्दछ । अब यसरी निर्माण भएका एन्टिबडीहरुले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई नष्ट गर्नेमात्र होइन भविष्यमा सर्न सक्ने भाइरसको पहिचान गर्छ र हाम्रो शरीरको कोषहरुमा प्रवेश गर्नबाट रोक्दछ । खोपले चलाखीपूर्ण ढंगबाट कोरोना भाइरसविरुद्ध काम गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*