रियल म्याड्रिड बराबरीमा रोकियाे : स्पेनिस ला लिगा

एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड ओसासुनासँग बराबरीमा रोकिएको छ । ओसानुसा रेलिगेसन जोनमा संघर्ष गरिरहेको टिम हो । घरेलु मैदानमा शनिबार राति भएको खेलमा दुवै टिम गोलरहित बराबरीमा रोकिए ।
खेलको १६औं मिनेटमा रुवेन गार्सियाले गोल गर्ने अवसर खेर फाले । ३०औं मिनेटमा ओइरको हेडरलाई म्याड्रिडका गोलरक्षक थिवाउट कोर्टुवाले असफल तुल्याए ।
करिम बेन्जेमाले ९०औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर गुमाएपछि रियल बराबरीमा रोकियो । ७० प्रतिशत बल पोसेसन राखेपनि रियलले ओसासुनाको बलियो रक्षापङ्ति तोड्न सकेन ।
जित निकाल्न नसक्दा रियलले शीर्षस्थानमा पुग्ने मौका गुमायो । अत्यधिक हिमपातको कारण एट्लेटिको म्याड्रिड र एथलेटिको बिल्वाओबीचको खेल रोकिएकोले पनि रियललाई यो मौका थियो ।
अहिलेसम्म रियलसँग १८ खेलबाट ३७ अंक छ भने १५ खेलबाट एट्लेटिकोको ३८ अंक जोडेको छ । उता ओसासुना १५ अंक जोडेर १९औं स्थानमा रोकिएको छ ।