बागमती प्रदेश लिग फुटबलमा मकवानपुरकाे डाँफे युवा क्लबकाे विजयी सुरुवात

निरन्तर न्यूज
१० फाल्गुन २०७७, सोमबार ०९:०३

हेटौंडा । नुवाकोटमा सञ्चालन भैरहेको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता विजेता डाँफे युवा क्लबले विजय यात्रा सुरुवात गरेको छ । जिल्ला लिग विजेता क्लबहरुको सहभागिता रहेको यस प्रदेश लिगमा मकवानपुरको डाँफे क्लबले काभ्रेलाई ३–१ गोल अन्तरले हराएको हो ।

डाँफेको तर्फबाट शनिराज थोकरले २ र राजेश स्याङ्तानले १ गोल गरेका थिए । काभ्रेको तर्फबाट राजेश थापाले एक गोल फर्काएपनि हारबाट जोगाउन सकेनन् । खेलमा डाँफेका शनिराज स्याङ्तान म्यान अफ द म्याच भए । डाँफेका प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीहरुले राम्रो खेल प्रदर्शन गरेको भन्दै खुसी व्यक्त गरे । आगामी खेलमा थप सुधारिएको प्रदर्शन गर्नु आवश्यक रहेको भन्दै उनले आफ्नो ध्यान त्यसतर्फ भएको प्रतिक्रिया दिए । डाँफेले ११ गते काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित १० जिल्लाको फुटबल टिमको सहभागिता रहेको छ ।

नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा बागमती प्रदेशको भक्तपुर, रसुवा र रामेछाप बाहेकका १० जिल्लाले सहभागिता जनाएको छ । सहभागी टिमहरुलाई ३ समूहमा विभाजन गरिएको छ । डाँफे युवा क्लब समूह ‘सी’ मा रहेको छ । फागुन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*