१० लाख राशीकाे राजर्षी जनक कप पिप्ले क्लबकाे कब्जामा

निरन्तर न्यूज
३१ चैत्र २०७७, मंगलवार ०७:१४

हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका ५ काे पिप्ले युवा क्लबले सर्लाहीमा जारी पाँचौ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सोमबार भएको फाइनल खेलमा आयोजक बागमती नगरपालिकालाई हराउँदै पिप्ले युवा क्लब हेटौडाले १० लाख १ हजार सहित प्रतियोगिताको उपाधि जितेको हो ।

आयोजकलाई सडन डेथमा ५–४ गोलअन्तरले पराजित गर्दै हेटौडा पाँचौ संस्करणको च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले ३–३ गोल र टाइब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट गरिएको थियो ।

पिप्ले युवा क्लब हेटौंडाका समिराज थोकरले खेलको ५ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । आयोजकका स्टेफनले ११ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

यस्तै, स्टेफनले १६औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै आयोजकलाई अग्रता दिलाए । पिप्लेका ग्लोरीले खेलको २६औँ मिनेटमा गोल गोल गर्दै बराबरीमा फर्काए ।

आयोजकका रित्तिक खड्काले खेलको ८९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि हेटौंडाका ग्लोरीले इन्जुरी समयमा गोल गर्दै खेल ट्राईब्रेकरमा धकेलिदिएका थिए । सडन डेथमा ५–४ गोले आयोजकलाई पराजित गर्दै हेटौंडाले उपाधि जितेको हो ।

खेलको म्यान अफ दी म्याच हेटौडाका ग्लोरी घोषित भएका थिए । उनले नगद १० हजार हातपारेका थिए ।

प्रतियोगिताको बिधागत तर्फ हेटौंडाका राजेन्द्र रावल उत्कृष्ट मिडफिल्ड, हेटौंडाकै प्रशिक्षक सुविन घिमिरे उत्कृष्ट प्रशिक्षक, आयोजकका गोलरक्षक अरुण ब्लोन उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता आयोजककै स्टेफनघोषित भएका थिए । उनीहरुले जनही २०–२० हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका कप्तान विजय घलान घोषित भए । उनले नगद ५१ हजार हातपारेका छन् । राइजिङ प्लेयर आयोजकका गोलरक्षक अरुण ब्लोन घोषित भए । उनले एक थान पल्सर मोटरसाइकल जित्न सफल भए ।

प्रतियोगिताको विजेताले नगद १० लाख एक हजार र उपविजेताले नगद ५ लाख ५ सय र ट्रफीमा चित्त बुझाएको छ । बाग्मती युवा क्लब र बाग्मती नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विदेशी २ टोलीसहित १० टिम सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*