भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य नाथलाई काेराेना संक्रमण

निरन्तर न्यूज
२ बैशाख २०७८, बिहीबार ०६:४३

काठमाण्डाैँ । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आशङ्का लागेपछि कोरोना परीक्षण गर्दा उहाँलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नै आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् ।

“मलाई कोरोना भाइरसबाट सङ्क्रमित भएका बेला देखिने केही लक्षणहरु देखिएपछि परीक्षण गरेकामा म कोरोना भाइरसबाट सङ्क्रमित भएको रिपोर्ट आएको छ”, मुख्यमन्त्री आदित्यले बताए ।

सङ्क्रमण पुष्टि भएपछि आफू अहिले सेल्फ आइसोलेशनमा बसेको र कोरोना भाइरसको सङ्क्रमणकै कारण कुनै गाह्रो समस्या भने नभएको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।

चिकित्सकहरुको सुझाव र सल्लाहअनुसारको जीवनशैली अहिले अपनाइरहेको र चिन्ता लिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री आदित्यले उल्लेख गरे ।

उनलेआफू सेल्फ आइसोलेशनमा रहे पनि भर्चुअल प्रणालीमार्फत बैठक, भेटघाट, छलफल र कुराकानीहरु गर्ने गरेको उहाँले जानकारी दिए ।

मुख्यमन्त्री आदित्य सङ्क्रमित भएर आइसोलेशनमा बसे पनि सरकार सञ्चालन र त्यसका काम कारवाहीमा भने कुनै प्रभाव नपरेको अधिकारीहरुले जनाएका छन् ।

उनले पछिल्लो केही दिनदेखि आफ्नो सम्पर्कमा रहेकाहरुलाई तत्काल कोरोना भाइरसको परीक्षण गराउनसमेत आह्वान गरे । उनीसँगै अन्य केही उच्च अधिकारी र उहाँको सम्पर्कमा रहेका केही व्यक्तिसमेत सङ्क्रमित भएको जनाइएको छ ।

भारतको उत्तर प्रदेश राज्यमा मङ्गलबार मात्रै कम्तीमा १८ हजार २१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने अरु ८५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*