देशभरका शिक्षालय वैशाख १६ देखि ३० गतेसम्म बन्द

निरन्तर न्यूज
१५ बैशाख २०७८, बुधबार २०:४९

काठमाडौँ । सरकारले वैशाख १६ देखि ३० गतेसम्म देशभरका विद्यालय तथा शिक्षालय बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ को नयाँ भेरियन्टहरू देखिने क्रम बढेकाले रोकथाम, नियन्त्रण तथा उपचारका लागि भन्दै सरकारले मुलुकभरका शैक्षिक संस्थालाई भौतिक उपस्थिति नभई भर्चुअल रुपमा वा वैकल्पिक माध्यमबाट पठनपाठन कायम राख्न निर्देशन दिएको छ ।

सरकारले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका लागि सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम प्रत्येक जिल्लाभित्र निषेधाज्ञा जारी गर्नेलगायत सम्पूर्ण अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

प्रमुख जिल्ला अधिकारीले सोही अधिकार प्रयोग गरी पहाडी र हिमाली जिल्लाको हकमा दुई सय र काठमाडौँ उपत्यका र तराईका जिल्लाको हकमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या पुगेको अवस्थामा जिल्लाभरि वा कुनै भागमा निषेधाज्ञा वा अन्य कुनै कदम चाल्नुपर्ने आवश्यकता भए जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस लिई वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि सार्वजनिक आवागमन, बजार सञ्चालनलगायत नियन्त्रण गर्न आवश्यक निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

प्रमुख जिल्ला अधिकारीले आवश्यक परेको खण्डमा स्थानीय प्रशासन ऐन २०१९ले दिएको अधिकार पनि प्रयोग गर्न सक्नेछन् । हवाइ र स्थलमार्ग हुँदै नेपाल आउने भारतीय नागरिक र चिनिया नागरिकलाई स्वाव सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्टसहित १० दिनको होटल क्वारेन्टिनमा बस्ने गरी प्रमाण पेश गरेको अवस्थामा प्रवेश अनुमति दिइने छ । हवाइमार्गबाट नेपाल प्रवेश गर्ने नेपालीको हकमा पनि सोही नियम लागू हुने छ ।

सरकारले सो अवधिमा अत्यावश्यक सेवा दिनुपर्नेबाहेक अन्य कार्यालयमा आलोपालो गरी कामकाज गर्न गराउन भनेको छ ।

नेपाल–भारत स्थलगत सीमा मार्ग नजिकै पायक पर्ने स्थानमा नेपाली सेनाले होल्डिङ सेन्टर बनाउने र त्यसका लागि सरकारले जग्गा र अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा दिने भनिएको छ । सरकारले कोभिड बिरामीको उपचारका लागि पर्याप्त अक्सिजनको सिलिण्डर हुने गरी तत्काल आवश्यक व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*