जर्मनी माथि इङ्ल्यान्डको ऐतिहासिक जित

निरन्तर न्यूज
१६ असार २०७८, बुधबार ०८:३३

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत मंगलवार सम्पन्न अन्तिम १६ को खेलमा इङ्ल्यान्डले जर्मनीलाई २-० गोलले पराजित गरेको छ।

इङ्ल्यान्डको घरेलु मैदान वेम्बलीमा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलमा इङ्ल्यान्डले दोस्रो हाफमा दुई गोल गर्दै चार पटक विश्वकप विजेता जर्मनीको युरो कप २०२० यात्रा अन्त्य गरेको हो। खेलको शुरुवाती ४५ मिनेटसम्म दुवै टोलीले गोल गर्न सकेका थिएनन्।

तर खेलको दोस्रो हाफमा इङ्ल्यान्डले आफ्नो ‘ट्रस्टेड म्यान’ स्टरलिङको गोल मार्फत खेलमा अग्रता लियो। म्यान्चेस्टर युनाइटेड तथा इङ्ल्यान्डका लेफ्ट ब्याक लुक शको शानदार पासमा स्टरलिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन्।

त्यसपछि खेलको ८६औं मिनेटमा इङ्ल्यान्डका कप्तान ह्यारी केनले खेलमा दोस्रो गोल गरे। उनले ज्याक ग्रीलिशको पासमा गोल गर्दै इङ्ल्यान्डको अग्रता दोब्बर बनाए। केनको यस प्रतियोगितामा यो पहिलो गोल रह्यो।

खेलको ८१औं मिनेटमा जर्मनीका भेट्रान खेलाडी थोमस मुलरलाई खेल बराबरीमा लग्ने सुनौलो अवसर मिलेको थियो। तर उनले ‘वान अन वान’को अवस्थामा पनि गोल गर्न भने सकेनन्।

यसरी कुनै पनि प्रमुख प्रतियोगितामा जर्मनी माथिको यो जित इङ्ल्यान्डको सन् १९६६ पछिको पहिलो जित हो। यस ऐतिहासिक जितसंगै इङ्ल्यान्डले क्वार्टर फाइनलको यात्रा पक्का गरेको छ भने जर्मनीको युरो कप २०२० को यात्रा समाप्त भएको छ।

जर्मनीको यो पराजयसँगै यस संस्करणको ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’का सबै टोली प्रतियोगिताबाट बाहिरिएका छन्। यस अघि विश्वकप विजेता फ्रान्स र वर्तमान युरो कप विजेता पोर्चुगल पनि युरो २०२० बाट बहिरिसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*