कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा कपको फाइनलमा

निरन्तर न्यूज
२३ असार २०७८, बुधबार १०:०६

हेटौंडा । अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार विहान सम्पन्‍न सेमिफाइनलमा कोलम्बियालाई टाइब्रेकरमा ३-२ ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले कोलम्बियाका तीन प्रहार बचाए ।

सुरुवाती प्रहारमा कोलम्बियाका जुआन क्वाड्राडो र अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गरे । त्यसपछिको प्रहार मार्टिनेजले बचाउँदा अर्जेन्टिनाका रोड्रिगो डे पलले बाहिर प्रहार गरे ।

त्यसपछि अर्जेन्टिनाका लियान्द्रो पेरेडेस र लाउतारो मार्टिनेजले गोल गर्दा कोलम्बियाका बाँकी तीनमध्ये दुई प्रहारलाई मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीलाई फाइनलमा पुर्‍याए ।

त्यसअघि निर्धारित समयको खेलको सातौं मिनेटमै कप्तान लियोनल मेस्सीको पासमा लाउतारोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६०औं मिनेटमा डियाजले बराबरी गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । त्यसपछि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा गएको हो ।

अर्जेन्टिनाले अब उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिलसँग प्रतिस्पर्धा गर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*