इंग्ल्यान्डलाई हराउँदै इटालीले जित्यो  युरोकप

निरन्तर न्यूज
२८ असार २०७८, सोमबार ०८:४७

काठमाडौं । युरोपमा सम्पन्‍न युरोकप फुटबलको उपाधि इटालीले जितेको छ । राति भएको फाइनल खेलमा इंग्ल्यान्डलाई टाइब्रेकरमा ३-२ ले हराउँदै इटाली दोस्रोपटक च्याम्पियन बनेको हो ।

निर्धारित ३० मिनेट तथा अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा इटालीका गोलरक्षक जियनलुगी डोनारुमाले इंग्ल्यान्डका तीन प्रहार बचाए ।

टाइब्रेकरमा इटालीका डोमेनिको बेरार्डी, लियोनार्डो बोनुसी र फेडेरिको बर्नार्डेस्कीले गोल गर्दा एन्डिया बेलोट्टी र जोर्गिन्होको प्रहार सफल हुन सकेन ।

त्यसैगरी इंग्ल्यान्डका ह्‍यारी केन र ह्‍यारी मागुएरको प्रहार मात्र सफल हुँदा मार्कस रासफर्ड, जेडन सान्चो र बुकायो साकाले गोल गर्न सकेनन् ।

त्यसअघि निर्धारित समयको खेलको दोस्रो मिनेटमै लुक शले गोल गरेपछि इंग्ल्यान्डले अग्रता बनाएको थियो । दोस्रो हाफको ६७औं मिनेटमा बोनुसीले गोल गरेपछि खेल १ १ को बराबरीमा आएको थियो ।

इटालीले सन् १९६८ पछि पहिलोपटक युरोको उपाधि जितेको हो । यता इंग्ल्यान्डको भने पहिलोपटक युरो च्याम्पियन बन्‍ने सपना अधुरै रह्‍यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*