एमालेले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्छ : केपी ओली

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गरेर जनमत ल्याउने विश्वास व्यक्त गरेका छन्। पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले आज आयोजना गरेको भेलामा पूर्वप्रधानमन्त्री ओलीले भने, ‘हामी अबको एमालेलाई फुट्दा नफुट्ने, निःस्वार्थी र देश बनाउन सक्षम शक्ति बनाउनेछौं।’
उनले सरकारले राष्ट्रिय स्वाधीनताका पक्षमा प्रदर्शन गर्ने र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी दिनु लोकतन्त्रको मर्मविपरीत भएको बताए। अध्यक्ष ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टीले कारबाही सिफारिस गरेका सांसदलाई कारबाही नगरेको गुनासो गरे।
एमालेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतले गत असार २८ गते दिएको संसद् पुनस्र्थापना र प्रधानमन्त्री नियुक्तिसम्बन्धी फैसलाप्रति आफ्नो पार्टीको विमति रहेको बताए। युवा संघका इन्चार्ज महेश बस्नेतले सरकारले सुकुम्बासी र भूमिहीनतलाई जमिन दिन गठित आयोगलाई विघटन गरेर निराश बनाएको आरोप लगाए।
संघका अध्यक्ष किरण पौडेलले समृद्धिको स्पष्ट योजनासहित अघि बढिरहेको सरकारलाई पार्टीकै केही नेताको संलग्नतामा हटाइएको आरोप लगाए।