मन्त्रीको सपथ कार्यक्रममा पत्रकार प्रवेशमा रोक, पत्रकारले दिए मुल गेटमा धर्ना

निरन्तर न्यूज
२३ भाद्र २०७८, बुधबार २१:१३

हेटौंडा । बागमती प्रदेशका मन्त्रीको सपथ ग्रहण हुँदा पत्रकारलाई समाचार संकलनमा रोक लगाइएको छ ।

हेटाैँडा १० मा रहेकाे प्रदेश प्रमुखकाे कार्यालयमा ६ जना मन्त्री र ४ जना राज्यमन्त्रीको सपथग्रहण कार्यक्रममा समाचार संकलन गर्न पत्रकारलाई रोक लगाइएको हाे ।  तर, पत्रकार भन्दा बाहेक कार्यालय सहयोगी, चालक, जग्गा व्यावसायी, होटल व्यावसायी र आम युवाहरु सपथग्रहणको हलमा खुल्लम खुल्ला  प्रवेश गरेका थिए ।

पत्रकारलाई समाचार संकलनमा रोक लगाएपछी नेपाल पत्रकार महासंघ मकवानपुर साखाको अगुवाइमा प्रदेश प्रमुखको कार्यालयको मुल गेटमानै पत्रकारहरुले धर्ना दिएका थिए । पत्रकारलाई बारम्बारको सपथग्रहणमा रोक लगाएकोमा बिरोध स्वरुप धर्ना दिइएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले वताउनुभयो ।

यसअघि पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सपथग्रहणका वेला राती ११ बजे पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो । पत्रकार भन्दा बाहेक जुनसुकै व्यक्तिलाई प्रदेश प्रमुखको कार्यालय भित्र छिर्न दिने तर, समाचार संकलनलाई रोक लगाइएकोमा पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईले आपत्ति जनाउनु भएको छ ।

पत्रकारले धर्ना दिएपछी प्रदेशका मन्त्री, प्रमुख सचिब, सचिबहरुका सवारीलाई भित्र जानमा पत्रकारले रोक लगाएका थिए । पत्रकारले धर्ना दिएर मन्त्री र सचिबलाईनै प्रवेशमा रोक लगाएपछी एकै छिनका लागि पत्रकारलाई सपथग्रहणको तस्बिर कैद गर्न पठाइएको थियो । प्रदेश प्रमुखको कार्यालय गेटमा जिल्लाका पत्रकारहरु धर्नामा बसेका थिए । आफ्ना सञ्चारका साधनहरु अगाडी राखेर धर्ना दिएका हुन् ।

राजनीतिक कार्यकर्ता लगायत अन्यलाई भित्र छिर्न दिएको प्रति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष गौतमले घोर आपत्ति प्रकट गर्नुभएको छ । यसबारे प्रदेश प्रमुखलाई महासंघले ध्यानकर्षण गराउने उहाँले बताउनुभयो ।

प्रदेश प्रमुखको कार्यालयमा सपथग्रहणको हलमा नामसहित टासिएका अतिथीका सिटमा अरुनै बसेकाले जनप्रतिनिधिहरु पनि हल बाहिर बस्न बाध्य भएका थिए । प्रदेश प्रमुखको कार्यालयको हल साघुरो भएपनि बाहिर खुल्ला स्थानमा सपथ ग्रहण गराउन तर्फ कसैको पनि ध्यान गएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*