मकवानपुर गाेल्डकपका उत्कृष्ट खेलाडी बरालले पाए बुलेल बाइक

निरन्तर न्यूज
३१ जेष्ठ २०७९, मंगलवार ११:०१

हेटौंडा । हेटौंडामा सम्पन्न मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको विधागत खेलाडी र प्रशिक्षकको सम्पूर्ण पुरस्कार आर्मीले पाउँदा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार भने विजय यूथका अशोक बरालले प्राप्त गरेका छन् ।

सर्वोत्कृष्ट खेलाडी भएका विजय यूथका कप्तान तथा गोलरक्षक बरालले बुलेट मोटरसाइकल प्राप्त गरे । सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कूल अफ म्यानेजमेण्टले बुलेट मोटरसाइकल उपलब्ध गराएको हो । २३ बर्ष मुनिको टिममा परिसकेका उनले गत ए डिभिजन लिग मनाङमस्र्याङ्दी क्लवबाट खेलेका थिए ।

अन्य विधागत पुरस्कार भने आर्मीले प्राप्त गरेको छ । आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन र प्रशिक्षक नवीन न्यौपानेले विधागत उत्कृष्टको पुरस्कार प्राप्त गरेका छन् । उनीहरुले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजेता उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बागमति प्रदेश सभापति एवम् पूर्व गृह राज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, आयोजक मकवानपुर जिल्ला फुटबल संघ अध्यक्ष टीकाराम लामा, प्रतियोगिता संयोजक प्रताप बिष्टलगायतले पुरस्कार वितरण गरेका हुन् ।

प्रतियोगिताको उपाधि नेपाल आर्मी क्लबले जितेको छ । आर्मीले घरेलु टोली विजय युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*