नेपाललाई हराउँदै भारत बन्यो १७ बर्षमुनिको साफ च्याम्पियन

निरन्तर न्यूज
३० भाद्र २०७९, बिहीबार ०७:००

हेटौंडा । नेपाललाई हराउँदै भारतले श्रीलंकामा आयोजना भएको साफ १७ बर्षमुनिको च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
कोलम्बोमा बुधबारराति सम्पन्न भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।
भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । भारतले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेको हो ।
कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए ।
खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।
खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।
यस जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*