५८१ वटा कित्ताका संरचनाले मासे टुकुचा
काठमाडौं । चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको छ । टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चलाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
शहरी विकास मन्त्रालयको वाग्मती सभ्यताको लागि बनेको एकीकृत विकास उच्चस्तरीय समितिले तयार पारेको ८० पृष्ठ लामो प्रतिवेदनकै आधारमा काठमाडौं महानगरपालिकाले टुकुचा खोला करिडोर बनाउने अभियान सुरु गरेको छ ।
यसको लागि महानगरले पहिलो पाइला चालिसेको छ । जसअन्तर्गत बिहीवार जय नेपाल हलमा उत्खनन् भइसकेको छ ।
महानगरले यही अनुसार डोजर चलाउने हो भने हात्तीसारक्षेत्रमा रहेका केही ठूला भवन पूर्णरुपमा भत्कने निश्चित छ । प्रतिवेदनअनुसार टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले शहरी विकासको मापदण्ड पूरा गरेका छैनन् ।
महानगरले दसैँअगाडि नै हात्तीसारक्षेत्रमा टुकुचाको कुल चौडाइ १२ मिटर बनाउने लक्ष्य लिएको छ ।
जय नेपाल हलसँगै रहेको एअर अरेबिया तथा गल्फ एअरको कार्यालय रहेको भवन, एसबी डेभलपर्सले बनाएको लक्ष्मी बैंक रहेको स्थानको भवन टुकुचा खोलामिच्ने ठूला संरचना हुन् । लोकपथबाट ।