सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर : प्रधानमन्त्री प्रचण्ड

निरन्तर न्यूज
१० माघ २०७९, मंगलवार ०७:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना र प्रविधिको विकासले मानव जीवनमा सकारात्मक प्रभाव मात्रै पारेको नभइ अपराधको चरित्रमा बहुआयामिक फेरबदल ल्याएको बताउनुभएको छ ।

बाइसौँ सशस्त्र प्रहरी दिवस २०७९ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो अपराधको चरित्रजस्ता सुरक्षा चुनौतीलाई सामाना गर्नका लागि आवश्यक रणनीति बनाइ सोहीअनुसार परिचालित हुन सुरक्षा निकायलाई निर्देशन पनि दिनुभयो ।

प्रधानमन्त्री दाहालले अपराधलाई निरुत्साहित गर्दै नेपाल सरकारको सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय रणनीतिक लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दारी र प्रभावकारी भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।

मुलुकको राजनीतिक सङ्क्रमणकालदेखि वर्तमानसम्म सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रधानमन्त्री दाहालले प्राकृतिक एवं मानव सिर्जित विपद्मा सशस्त्र प्रहरीले कर्तव्यनिष्ट भएर काम गरेकोमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

उहाँले नेपालको सीमा सुरक्षामा ‘डेडिकेटेड’ सुरक्षा फौजको रुपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक एवं वातावरण प्रतिकूलता र सीमित पूर्वाधारका बाबाजुद राष्ट्र सेवाको भावनासहित परिचालित सशस्त्र प्रहरीलाई विशेष धन्यवाद र आभार व्यक्त गर्नुभयो ।

उहाँले नेपालको सीमा सुरक्षार्थ चारै दिशाका सीमा क्षेत्रमा परिचालन गर्न आवश्यक साधन स्रोत, सीप, तालिम र प्रोत्साहनको व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले राजस्व सङ्कलनमा पुर्‍याएको सहयोग, व्यक्ति सुरक्षा तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वनय र जनताको जीउधनको सुरक्षामा सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको पनि प्रशांसा गर्नुभयो ।

उहाँले सशस्त्र प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउनमा सरकार गम्भीर रहेको बताउनुभयो । सशस्त्र प्रहरीतर्फ इङ्कित गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “तपाइँहरूलाई स्रोत र सधानको अभाव छ, भन्ने कुरा हामी सबैलाई जानकारी छ, हातहतियार, गोलीगट्टा, आवास एवं लजिष्टिकका सामान, विपद् व्यवस्थापनका सामान, सवारी तथा भौतिक पूर्वाधार र आवश्यक उपकरण एवं जनशक्तिका लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने विश्वास व्यक्त गर्दछु ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*