हेटौंडा अस्पतालमा मनाेचिकित्सा वार्ड सञ्चालन

हेटौंडा । हेटौंडा अस्पतालमा मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई उपचार गर्न २५ बेड सञ्चालनमा आएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले मानसिक रोगबाट प्रभावित बिरामीहरुलाई लक्षित गरी मनोचिकित्सा वार्ड सञ्चालन गरिएको वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन् गर्नुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री जोशीले यो अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिने बताउनुभयो । मानसिक स्वास्थ्यका कारण पनि आत्म हत्या धेरै बढेकाले यसको न्यूनीकरणका लागि उपचार सेवा थप गर्नुपरेको उहाँले बताउनुभयो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले हेटौंडा अस्पतालमा आनसीक स्वास्थ्यको उपचार थप भएसंगै अब अरु सेवा पनि थप गर्ने योजनाका साथ लागिएको बताउनुभयो ।
अब आजबाट महगो मुल्यमा हेटौंडाका निजी मेडिकलहरुमा मानसिक रोग लागेका बिरामीहरुको उपचार गर्नुपर्ने समस्या हटेको मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताउनुभयो । पहिले देखिनै अस्पतालमा ओपीडीमा आएका मानसीक समस्या भएका बिरामीहरुको उपचार गरिदै आएको भएपनि अब भने भर्नानै गरेर उपचार गर्नका लागि सुरुवात गरिएको उहाँले बताउनुभयो ।
हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्ड सञ्चालनमा आएसंगै मकवानपुर र आसपासका क्षेत्रका बिरामीहरुलाई सहज भएको छ । अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइको हो ।
गत असारबाट हेटौंडा अस्पतालमा एक जना मनोरोग विशेषज्ञ नियुक्त भइ ओपीडी मार्फत् सेवा प्रवाह गर्दै आएको अवस्थामा हाल सो सेवालाई विस्तार गरी आकस्मिक र बिरामी भर्ना सेवासमेत सञ्चालन सुरु भएको हो । वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताउनुभयो ।
हेटौंडा अस्पतालमा अन्य विषयका साथै मानसिक रोग विशेषज्ञ २ देखि ५ बजेसम्म विस्तारित ओपीडी सेवा, प्रतिष्ठानमा चालु आर्थिक वर्षबाट एमडी साइक्याट्रिक वा मानसिक रोग विशेषज्ञ तयार गर्ने शैक्षिक कार्यक्रम पनि सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ ।
आगामी आर्थिक वर्षदेखि हेटौंडा अस्पतालमा ३ जना मनोचिकित्सक नियुक्त गरी मकवानपुरका विभिन्न पालिकामा शिविरका रुपमा मनोचिकित्सा सेवा प्रवाह गर्ने योजना रहेको छ।
प्रतिष्ठानको प्राविधिक सहयोगमा हेटौंडामा रहेको मानव सेवा आश्रममा ३० शय्या क्षमताको मानसिक स्वास्थ्य पुनर्स्थापना केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ । मानसिक रोगका बिरामीलाई उपचार तथा पारिवारिक पुनःस्थापनका लागि सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।