जाजरकोटमा भुकम्पबाट ६७ हजार विस्थापित, ९ हजार ९७४ घर पूर्णरुपमा क्षति
काठमाडौं । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् ।प्रशासन कार्यालय जाजरकोटले जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जनाएको छ ।
प्रशासनका अनुसार जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १ सय ७४ जनसंख्या विस्थापित छ । प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।
भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।