मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज दिल्ली जाँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज नयाँ दिल्ली जादैछ ।
प्रधानमन्त्री मोदीको निमन्त्रणमा प्रधानमन्त्री नेतृत्वको टोली भारत जान लागेको हो । प्रधानमन्त्री दाहाल नेतृत्वको टोली दिउँसो सवा १ बजे नेपाल एअरलाइन्सको जाहाजबाट दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
मोदीले आज साँझ ७ बजे तेस्रो कार्यकालका लागि सपथ लिदैछन् ।
राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।
मोदीका साथै सरकारको मन्त्रिपरिषद्का केही सदस्यले पनि आजै सपथ लिने छन् ।
सपथ ग्रहण समारोहका लागि प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहितको टोली सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आजै साइडलाइन वार्ता हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किने छन् । एक वर्षपछि प्रचण्डको भारत भ्रमण हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले एक वर्ष अघि भारतको औपचारिक भ्रमण गरेका थिए ।
मोदीको शपथग्रहणमा भारत सरकारले प्रचण्डसहित श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोेग्बे र मरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निम्तो गरेको छ ।