मन्त्रीमा युवालाई अघि सार्ने ओलीको योजना

निरन्तर न्यूज
२७ असार २०८१, बुधबार ०८:२४

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।

अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्थालाई देखाएर हिजो स्थगित बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।

सरकार गठन र पार्टीबाट सरकारमा जाने मन्त्रीको नामको छिनोफानो गर्न ओलीले सचिवालय बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय नेताको कार्यविभाजनको विषय पनि एजेण्डामा राखिएको छ ।

नयाँ सरकारको नेतृत्व गर्न लागेका ओलीले पार्टीबाट युवालाई मन्त्री बनाउने तयारी गरेका छन् । कांग्रेससँगको सहमति अनुसार एमालेले ९ मन्त्री पाउने भएको छ ।

ओलीको सूचीमा समानुपाति र राष्ट्रिय सभाका सांसदसमेत मन्त्री बन्नेको सूचीमा परेपछि दुई दुई पटक चुनाव जितेर पनि अहिलेसम्म मन्त्री बन्ने अवसर नपाएकाहरुले भने चित्त दुखाउन थालेका छन् ।

ओलीले भर्खरै सचेतकको जिम्मेवारी पाएकी समानुपातिक सांसद सुनिता बरालदेखि राष्ट्रिय सभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल र भर्खरै चुनाव जितेका सुहाङ नेम्वाङसम्मलाई मन्त्री बनाउने चाहना राखेपछि लामो योगदान गरेकाहरु भने पाखा लाग्ने भएका छन् ।

ओलीको सूचीमा गोकर्ण विष्ट, सूर्य थापा, जुली महतो, प्रमुख सचेतक महेश बर्तौला, पदम गिरीसम्मको नाम रहेको एक नेताको दाबी छ ।

अध्यक्ष ओलीको नजरमा नपर्नेहरु अवसरबाट वञ्चित भए पनि खुलेर बोल्न सकेका छैनन् ।

पाल्पाका ठाकुर गैरे , दुई पटकसम्म चुनाव जितेका कास्कीका विद्या भट्टराई र झापाका एलपी साँवा युवा भए पनि ओलीको नजरमा अहिलेसम्म नपरेको ती नेताको भनाइ छ ।

अल्पमतमा परिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सी शुक्रबार संसदमा विश्वासको मत लिदैछन् ।

झण्डै दुई तिहाई सांसदले नयाँ सत्ता समीकरणमा समर्थन जनाएकाले प्रचण्डले विश्वाको मत पाउने सम्भावना देखिदैन ।

सरकार ढलेपछि एमाले अध्यक्ष ओली कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्री बन्ने छन् । यो सँगै ओली तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*