साफ महिला च्याम्पियनसिप फाइनलको टिकट काट्न लाम
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीच हुने आजको फाइनल हेर्न टिकट काट्न बिहानैदेखि भिड लागेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ । तर आठ नबज्दै टिकट काट्नेको लाम लागेको छ । अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्रीस्थलमा सर्वसाधारण लाममा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।
यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बेच्न लागेको हो ।
उक्त खेलमा १५ हजार दर्शक क्षमताको रंगशालामा १९ हजारलाई प्रवेश गराइएको थियो । २ हजारभन्दा बढीले टिकट लिएर पनि खेल हेर्न नपाएको एन्फाले जनाएको छ ।