मत्स्य दिवसमा बिद्यालय शिक्षा कार्यक्रम

निरन्तर न्यूज
१० मंसिर २०८१, सोमबार ११:३६

हेटौँडा । जलीय जैविक विविधताको महत्वबारे विद्यार्थीलाई बुझाउन थालिएको छ । पछिल्लो समय हराउँदै गएको प्राकृतिक जलाशय र लोप हुँदै गएका जलीय प्राणीको संरक्षण गर्न त्यसको महत्वबारे सरकारी विद्यालयका विद्यार्थीलाई जानकारी दिन थालिएको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाले मकवानपुरको मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माध्यामिक विद्यालय र हेटौँडा–८ कमानेमा रहेको चन्द्रोदय माध्यामिक विद्यालयमा अध्ययनरत एकसय बढी विद्यार्थीहरूलाई विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । मत्स्य क्षेत्रमा लगानी वृद्धिः खाद्य सुरक्षा, दिगो विकास र समृद्धि भन्ने मुल नाराका साथ विश्व मत्स्य दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत सरकारी विद्यालयका विद्यार्थीलाई जलीय जैविक विविधताबारे जानकारी दिइएको थियो ।

चण्डिका मावि र चन्द्रोदय माविमा प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडा कार्यालय प्रमुख सरोज कुमार यादवले माछाको जात, माछा र मानव स्वास्थ्य, जलचर संरक्षण ऐनका बिषयमा र मत्स्य विकास अधिकृत बलराम आचार्यले विश्व मत्स्य दिवसको पृष्ठभूमि र नेपालमा माछाको अवस्थाबारे विद्यार्थीहरूलाई अभिमुखीकरण गरेका थिए ।

नेपालमा २५२ प्रजातिका माछा पाइने जानकारी दिर्दे उनले जसमध्ये १६ प्रजातिका माछाहरू नेपालमा मात्रै पाइने रैथाने माछा रहेको बताए । जलस्रोतमा हुने प्रदूषण रोक्न र जलीय जैविक विविधता संरक्षण गर्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने यादवको भनाई छ । उनले जलवायु परिवर्तनको असरबाट मत्स्य क्षेत्र बढी प्रभावित हुनेप्रति चिन्ता पनि व्यक्त गरे ।

करेन्ट लगाएर, विष प्रयोग गरेर, विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न नहुने बताउँदै सिँचाइ र विद्युत् उत्पादन गर्न बनाइने बाँधलगायतका संरचना निर्माण गर्दा माछा आवतजावतमा सहयोग गर्न ‘फिस लाडर’ निर्माण गर्नुपर्ने र सो निर्माण गर्न सम्भव नहुने स्थानमा मत्स्य ह्याचरीको निर्माण गर्नुपर्नेमा उनले जोडदिए । बढ्दो औद्योगिकीकरण, अव्यवस्थित सहरीकरण, गम्भीर खतरायुक्त रसायनले हुने जलस्रोतको प्रदूषणको कारणले समेत विश्वभरको जलीय जैविक स्रोत खतरामा परेको प्रति उनले चिन्ता प्रकट गरे ।

दिवसको अवसरमा ¥याली सहित समापन गरिएको कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले जैविक विविधता संकटमा पर्दै गएको बताइन् । उनले हेटौँडाको राप्ती खोलामा पहिले–पहिले माछा पाउने गरेको बताउँदै अहिले माछा हराउँदै गएको र माछा मारेर जिविका चलाउने वर्गको पनि पेशा सङ्कटमा परेको बताइन् । उनले जल र जलीय प्राणीको संरक्षण गर्ने दायित्व सबैको भएकाले यसप्रति गम्भिर हुन आग्रह गरिन् ।

दिवसको अवसरमा हेटौँडाको कर्रा खोलामा दश हजार माछाको भुरा छाडिएको थियो । मानव तथा जलचरमा बस्ने प्राणी र चराचुरुङ्गीको आहाराको रुपमा माछा प्रयोग हुने भएकाले खोलामा माछाको भुरा छाडिएको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाकी खरिदार अनुषा न्यौपानेले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*