आज सफला एकादशी : आज व्रत गर्दा के-के हुन्छ ?
हेटाैँडा । आज पौष महिनाको कृष्णपक्षको एकादशी । यसलाई सफला एकादशी पनि भनिन्छ । एकादशीको व्रत गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ । साथै मानसिक सामर्थ्य र शक्ति बढ्ने,आयु वृद्धि र आत्मिक उन्नति पनि हुने पद्म पुराणमा उल्लेख गरिएको छ ।
आजकाे दिन भगवान नारायणको विधिपूर्वक पूजा तथा आराधना गरिन्छ । सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास छ ।
पद्य पुराणअनुसार सफला एकादशीको अनुकम्पा सयौँ महायज्ञ भन्दा धेरै हुन्छ । सफला एकादशीको व्रत लिँदा पापबाट मुक्त हुने र कल्याण मिल्ने मान्यता छ ।
सफला एकादशीको दिन भगवान विष्णुको भक्तिभावका साथ पूजा गरिन्छ । वेद तथा पुराणमा उल्लेख भएका मन्त्रद्धारा देवदेवेश्वर हरि विष्णुको पूजा आराधना गरिन्छ भने राति जाग्राम बसिन्छ ।
सफला एकादशीका दिन गुरु तथा ब्राम्हणलाई दियो दान गर्नु राम्रो मानिन्छ । अरु एकादशीमा जस्तै यो एकादशीमा पनि शात्विक आहार व्यवहार गरि व्रत बस्नु पर्दछ ।
आजको दिन बिहानै स्नान गरि शुद्ध भई श्रीखण्ड चन्दन लगाई भगवान बिष्णुलाई कमल अथवा बैजयन्ती फूल, गंगाजल, पञ्चामृत, धूपदीप, नैवेद्ध चढाएर पूजा गर्नु पर्दछ ।
भोलीपल्ट अर्थात द्वादशीका दिन बिहानै ब्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै व्रतालुले भोजन गर्नु पर्दछ ।
साथै एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो आदि अखाद्य वस्तु सेवन गर्नुहुँदैन ।
पूर्ण व्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ । प्रातःकालमा ब्रस मन्जन गर्नुहुँदैन, बरु नीम, जामुनो वा आपको पात चबाएर कुल्ला गर्नुपर्छ ।
सफला एकादशीको व्रत विधि
प्रातः कालमा उठेर नित्य कर्म गरि स्नार गरेर शुद्ध वस्त्र धारण गर्नुगर्दछ । भगवान विष्णुको पूजा गर्नु पर्दछ । पूजा गर्दा शिरमा श्रीखण्ड चन्दन वा गोपी चन्दन लगाईदिनु पर्दछ ।
कमलको फूल अथवा वैयजन्ती फूल,फल,गंगा जल,पंचामृत, धूप, दीपसहित लक्ष्मी नारायणको पूजा तथा आरती गर्नुपर्दछ । दिनभर भगवान बिष्णुलाई सम्झिरहनु पर्दछ । सूर्य अस्त हुनुभन्दा पहिला फलाहार ग्रहण गर्नु पर्दछ । नुनको प्रयोग गर्नुहुँदैन । एकादशीको राति भगवानको भजनकीर्तन गर्नुपर्दछ ।
द्वादशीको दिन बिहानै उठेर स्नान गरि भगवान विष्णुको पूजापश्चात व्राम्हण तथा गुरुलाई भोजन गराएर दक्षिणा दिईसकेपछि मात्रै ब्रतालुले भोजन गर्नु पर्दछ ।
यस दिन रातो कपडा तथा अन्न दान गर्नु विशेष शुभ मानिन्छ । सफला एकादशीको दिन माता लक्ष्मीलाई सुप र भगवान विष्णुको लागि मिश्री चढाउनु पर्दछ ।
ॐ ह्रीं श्रीं लक्ष्मीवासुदेवाय नमः
मन्त्रको जप १०८ पल्ट जप गरी सुप र मिश्री प्रत्यक दिन प्रसादको रुपमा ग्रहण गर्दा आार्थिक सम्पन्नता तथा सुख प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।