प्रेस युनियनको लाेमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन सम्पन्न

हेटौँडा । नेपाल प्रेस युनियनको आयोजनामा सम्पन्न ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५’ ले लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटलाई मुख्य विषय बनाएर १९ बुँदे घोषणापत्र जारी गर्दै समापन गरेको छ।
सम्मेलनले प्रेस स्वतन्त्रताको संरक्षणलाई प्राथमिकता दिँदै दक्षिण एशियाली मुलुकहरूमा डिजिटल स्पेस नियमनको नाममा भइरहेका आक्रमणको प्रतिकार आवश्यक रहेको उल्लेख गरेको छ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले वैशाख २७ गते काठमाडौंमा उद्घाटन गर्नुभएको सम्मेलन पोखरा हुँदै मुस्ताङको लोमान्थाङमा पुगेर मंगलबार सम्पन्न भएको हो।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सम्मेलनले लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रताको रक्षा, जलवायु संकटको सामना तथा मुस्ताङ–लोमान्थाङ क्षेत्रको संरक्षणलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिएको जानकारी दिनुभयो। “लोकतन्त्र विकासको अपरिहार्य आधार हो,” अध्यक्ष लम्सालले भन्नुभयो, “राजनीतिक दलहरू, पत्रकारिता र नागरिक समाजबीचको सहकार्यले मात्र लोकतन्त्रलाई प्रभावकारी बनाउन सकिन्छ। त्यसका लागि स्थानीय मिडिया प्रणाली सुदृढ गर्न आवश्यक छ।”
घोषणापत्र सार्वजनिक कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्वु गुरुङले नीति निर्माणमा स्पष्टता नहुँदा हिमाली क्षेत्र जलवायु परिवर्तनको उच्च मारमा परेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष तथा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, हरिहर वीरहीलगायतका वरिष्ठ पत्रकारहरूको उपस्थिति रहेको थियो।
सम्मेलनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पत्रकारहरूबीच सहकार्य र संवादलाई सशक्त बनाउने प्रतिबद्धता जनाउँदै मिडिया स्वतन्त्रता र दिगो विकासबीचको सम्बन्धबारे समेत विशेष छलफल गरेको थियो।