एक विधेयक र चार वटा विधेयकका प्रतिवेदनसहित प्रदेश सभा बैठकमा पेस

निरन्तर न्यूज
८ जेष्ठ २०८२, बुधबार १९:३१

हेटाैँडा । बागमती प्रदेशसभामा एक विधेयक र प्रदेश सभा अन्तर्गतका समितिमा दफावार छलफलका लागि पठाइएका चार वटा विधेयकका प्रतिवेदनसहित पेस गरिएको छ ।

दुईवटा समितिका सभापतिहरुले २/२ वटा विधेयकका प्रतिवेदन र आन्तिरक मामिला तथा कानून मन्त्रीले एक वटा विधेयक पेश गरेका हुन् ।

संसद्को हिउँदे अधिवेशनमा पेस भएर छलफलका क्रममा रहेका यी संशोधन विधेयकका प्रतिवेदनहरु प्रदेश सभाको मंगलबार बसेको बैठकमा संसदीय समितिले दफावार छलफल पछि संशोधन प्रस्ताव पारित गरी तयार गरेको विधेयकसहितका प्रतिवेदन पेस गरिएकाे हो ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहितको प्रतिवेदन र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकसहितको प्रतिवेदन पेस गरेका थिए।

यसैगरि उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकसहितको प्रतिवेदन र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकसहितको प्रतिवेदन पेस गरेका थिए ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

त्यसअघि रहेकाे प्रदेश सभा बैठकमा विशेष समयको कार्यसूचीकाे विशेष समयमा बोल्ने अधिकांश सांसदले प्रदेश सरकारको कामकाज र विकास निर्माणको विषयमा आ–आफ्नो धारणा राखेका थिए। विशेष समयमा बाेल्दै सांसदहरुले सरकार जनताप्रति उत्तरदायी हुन नसकेकाे बताएका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु