हेटौंडामा होटलको तेस्रो तलाबाट खसेर घाइते भएका युवकको मृत्यु

निरन्तर न्यूज
४ असार २०८२, बुधबार ०७:३४

हेटाैँडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाबाट खसेर गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृतक २९ वर्षीय अमित मोक्तान हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका बासिन्दा थिए । सोमबार राति होटलको तेस्रो तलाबाट खसेका उनलाई तत्काल हेटौंडा अस्पताल पुर्‍याइएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार बिहान उपचारकै क्रममा उनको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मोक्तानकी पत्नी सोही होटलमा कार्यरत थिइन् र उनी केही समयदेखि होटलमै बस्दै आएकी थिइन् । मोक्तान पत्नीलाई भेट्न होटल पुगेका बेला घटना भएको बताइएको छ । हालसम्म घटनाको स्पष्ट कारण खुलेको छैन । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ र आवश्यक विवरण संकलनको कार्य जारी छ ।

घटनाको प्रकृति हेर्दा यो आत्महत्या हो वा दुर्घटना, वा अन्य कुनै कारण रहेको भन्ने बारेमा आधिकारिक निष्कर्ष आउन बाँकी छ । प्रहरीले घटनास्थलको अध्ययनसहित सबै पक्षको बयान लिएर अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु