हेटाैँडा १ का वडा अध्यक्ष न्यौपानेमाथी आक्रमण गर्नेलाई कारबाहीको माग

निरन्तर न्यूज
४ असार २०८२, बुधबार २२:१७

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले हेटाैँडा १ का वडा अध्यक्ष सबिन न्याैपानेमाथि भएकाे आक्रमणकाे भत्सर्ना गरेकाे छ ।

आज साँझ उपमहानगरमा बसेकाे पालिका बैठकले वडा अध्यक्ष न्याैपानेमाथि आक्रमण गर्नेहरुकाे खाेजीगरि दाेषिउपर कारवाहीकाे माग गरेकाे छ ।  बैठकले यस्ता आक्रमण गैरराजनीतिक, नियोजित भएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

बुधबार दिउँसो ३:४० बजेतिर हेटौँडा १ का वडा अध्यक्ष न्यौपानेमाथी कार्यकक्षमै मसी छ्यापेर नेम प्लेटले टाउकाे प्रहार गरिएकाे थियाे । वडाध्यक्ष तथा उपमहानगरका प्रवक्ता  समेत रहेका  न्यौपानेमाथि चाइना क्वाटरस्थित वडा कार्यालयमा अपरिचित ३–४ जनाको कालाे पाेशाक र मास्क लगाएकाे समूहले फाइल हेर्ने बहानामा उनीमाथी माेबिल छ्यापेर अन्धाधुन्द  कुटपिट गरेका थिए ।

घटनाको बिषयमा बोल्दै मेयर मिना लामाले वडाध्यक्षमाथिको आक्रमण गम्भीर र आपत्तिजनक भएको र ज्यानै लिने शैलीको आक्रमण कदापि स्वीकार्य नभएकाे बताइन् ।

कार्यपालिका बैठकपछि घटनाको बारेमा जानकारी दिँदै वडा अध्यक्ष न्यौपानेले दुईवटा नम्बर नखुलेका मोटरसाइकलमा आएका ३–४ जनाको समूहले आफुमाथी आक्रमण गरेको बताए । न्याैपानेका अनुसार ती व्यक्तिहरुले टाउको, शरीर र कपडामा कालो मोबिल छ्याप्नुका साथै अनुहार र टाउकोमा मुक्का प्रहारसमेत गरेका थिए । जसका कारण उनकाे टाउकोमा चोट लागेको छ । केही दिनदेखि हेटाैँडा १ मा भूमिहीन सुकुम्बासीकाे समस्या चल्दै आएकाे र   त्यसै विषयका  व्यक्तिहरु सम्मिलित याे हर्कत गरेकाे उनले बताए ।

उपमहानगरपालिकाले हालै हेटाैँडा अस्पतालपछाडि स्वर्गलोक क्षेत्रमा अवैध रूपमा बनाइएका टहरा हटाउने अभियान थालेको थियो । सोही विषयमा असन्तुष्टि राख्दै आक्रमण भएको प्रारम्भिक अनुमान गरिएको छ। केही समयअघि कार्यपालिका बैठकले कानूनि व्यवस्था अनुसार सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकता दिने निर्णय लिएको थियो।

यसैबिच जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी श्यामु अर्यालले घटनाको बारेमा आवस्यक अनुसन्धान सुरु गरिसेको जानकारी दिए । घटनास्थलको सिसिटिभी फुटेज संकलन गरी आक्रमणकारीहरूलाई खाेज्ने कार्य भएकाे बताए ।  अध्यक्ष न्यौपानेका दुई मोबाइलसमेत हराएकाे हुँदा मोबाइल ट्रयाकिङमार्फत लोकेसन पत्ता लगाउँदै खोजी कार्य तीव्र पारिएको प्रहरीकाे भनाई छ ।

यस अघि नेपाली काँग्रेस मकवानपुरले न्याैपानेमाथि आक्रमण गर्नेलाई कारवाहीकाे माग गर्दै बिज्ञप्ती जारी गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु