निजी क्षेत्रका व्यवसायमा अवरोध सिर्जना गर्न नहुने स्पष्ट नीति आवश्यक : अध्यक्ष ढकाल

निरन्तर न्यूज
२७ पुष २०८२, आईतवार ११:५३

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका व्यवसायमा अवरोध सिर्जना गर्ने हडताल, बन्द, लुटपाटजस्ता गतिविधि हुन नहुने स्पष्ट नीति आवश्यक रहेको बताएका छन्। निजी क्षेत्र सुरक्षित र सहज वातावरणमा सञ्चालन हुन सके मात्र देशको आर्थिक विकास सम्भव हुने उनको भनाइ छ।

शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले व्यवसाय सञ्चालनमा बाधक बनेका विभिन्न नियम तथा कानुन सुधारका लागि महासंघले महत्वपूर्ण भूमिका खेलेको बताए। उद्योगका डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धी समस्यामा महासंघको पहलले समाधानतर्फ सहजता आएको उल्लेख गरे।

निजी क्षेत्रप्रति नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै अध्यक्ष ढकालले त्यसलाई चिर्न आवश्यक रहेको बताए। उनले निजी क्षेत्रमा लगानी गर्नु भनेको राज्यको राजस्व बढाउनुका साथै रोजगारी सिर्जना गर्नु भएको स्पष्ट पारे। साथै सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले विभिन्न सामाजिक तथा विकाससम्बन्धी कार्य गर्दै आएको जानकारी दिए।

कार्यक्रममा जन्जी आन्दोलनका कारण उद्योग क्षेत्रसमेत प्रभावित भएको उल्लेख गर्दै दीर्घकालीन र उद्योगमैत्री नीति निर्माणमा राज्य गम्भीर हुनुपर्ने धारणा राखियो। स्थानीय तहसँग समन्वय गर्दै विकासका काममा सहकार्य गरिएको पनि उनले बताए।

साधारणसभामा बोल्दै वक्ताहरूले धेरै उद्योगहरू बन्द हुने अवस्थामा पुगेको भन्दै राज्यले उद्योग जोगाउने नीतिगत र व्यवहारिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा मन्तव्य राख्नेहरूमा सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल तथा सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायत रहेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*