माघ २८ देखि हेटाैँडामा दोस्रो बृहत् महोत्सव हुने

निरन्तर न्यूज
४ माघ २०८२, शनिबार ०८:४६

हेटौँडा ।  हेटाैँडामा  दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गरी महाेत्सव गर्न लागिएकाे जानकारी गराएकाे हाे ।  समितिका अध्यक्ष राजकुमार मोक्तानले महोत्सव यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म सञ्चालन हुने जानकारी दिए ।

हेटौँडाउपमहानगरपालिका १० मा रहेकाे टिसिएन चौरमा हुने उक्त महोत्सवमा राष्ट्रिय तथा जिल्लास्तरीय खेलकुद समावेश हुने जनाएको छ । महोत्सवमा राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, तेक्वान्दो, जिल्लास्तरीय व्याडमिन्टन, जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगिता रहनेछ । राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजेताले ४ लाख रुपैयाँ, उपविजेताले २ लाख रुपैयाँ तथा सान्त्वना टिमले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै, जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्नेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । जिल्लास्तरीय कराँते तथा २२ किलोमिटर दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

महोत्सवमा कृषि, पर्यटन, हस्तकला प्रदर्शनी तथा बाल उद्यान समेत महोत्सवमा समावेश गरिने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले गर्नुहुनेछ भने समापन हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले समापन गर्ने कार्यक्रम तय भएकाे आयोजकले जनाएको छ ।

महोत्सवमा स्टल राख्न चाहने हेटौँडा बजार सडक बिस्तारका क्रममा विस्थापित भएका व्यवसायीलाई ५० प्रतिशत छुट उपलब्ध गराउने अध्यक्ष मोक्तानले बताउनुभयो । महोत्सवमा करिब तीन सयदेखि चार सय स्टलहरू रहने अपेक्षा आयोजकले गरेको छ । महोत्सवबाट प्राप्त हुने आम्दानी मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिदमा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*