एसईई र कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि यी दुवै परीक्षा स्थगित गरिएको हो ।
एसईई जेठ १३ गतेदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको थियो । जेठ २६ गतेबाट कक्षा १२ परीक्षा सुरु गर्ने तालिका पनि प्रभावित भएको छ ।
परीक्षा बोर्डको सोमबार बिहान बसेको बैठकले कोरोना महामारीको फैलावटका कारण अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको अध्यक्ष पौडेलले जानकारी दिए ।
परीक्षा स्थगित भए पनि गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने नगरिएको उनले बताए । बोर्डले कोरोना नियन्त्रणमा आएपछि परीक्षा सञ्चालन गर्ने रणनीति अख्तियार गर्ने भएको हो ।