नगर सभाबाट हेटौंडा उपमहानगरकाे २ अर्ब ६० करोड बजेट पारित

निरन्तर न्यूज
१६ असार २०७८, बुधबार ०८:१७

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आज सम्पन्न नगरसभाले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेट आज पास गरेको छ । आज नगरसभा सदस्यहरुले बजेट माथी आफ्ना धारणा राखेपछी बजेट पास गरिएको मेयर हरिबहादुर महतले वताउनुभयो ।

आउँदो आर्थिक वर्षका लागि उपमहानगरपालिकाले २ अर्ब ६० करोड १५ लाख विनियोजन गरिएको छ । यो बजेटमाथी नगरसभाका सदस्यहरुले आफ्ना सुझाब प्रस्त गरेको र सुझाबलाई कार्यान्यन गरेर अगाडी बढ्ने मेयर महतले वताउनुभयो । पाँच वर्षका लागि तोकिएर आएका जनप्रतिनिधिहरुले काम गर्ने अवधि अब थोरै मात्र रहेको र यसअघि धेरै राम्रा काम गरिएको उहाँले वताउनुभयो । यो समयमा पनि राम्रा र सकारात्मक काम गर्ने मेयर महतको भनाई छ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न साढे दुइ अर्व रुपैयाँ भन्दा बढी रकम बिनियोजन गरिएको हो ।

उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको अध्यक्षतामा भएको नगरसभा बैठकमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार अनुमान गरिएको छ । उपमहानगरपालिकाले राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, सङ्घीय सरकारको अनुदानबाट १ अर्ब २ करोड १ लाख,नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत वर्षको नगद मौज्दातबाट ५६ करोड रुपैयाँ बेहोर्नेगरी अनुमान गरिएको उपमेयर मिना कुमारी लामाले वताउनुभयो ।

यस उपमहानगरपालिकालाई नगरसभा पश्चात सङ्घीय तथा प्रदेश सरकारबाट अख्तियारी प्राप्त हुने सामाजिक सुरक्षा, गरिबसँग विश्वेश्वर कार्यक्रम लगायतका अन्य कार्यक्रमहरुको एकल खाता कोष प्रणालीमार्फत भुक्तानी हुने भएकाले आगामी आर्थिक वर्षमा यी कार्यक्रमहरुको स्रोत समावेश गरिएको छैन ।

आगमी आर्थिक वर्षमा उपमहानगरपालिका कार्यालयले सबै भन्दा महत्वपूर्ण कामका रुपमा बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजना अन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपमेयर लामाले वताउनुभयो । हेटौंडा ४ मा निर्माण हुने बहुबर्षीय योजना अन्तर्गत बहुउद्धेशीय व्यापारिक भवन निर्माण कार्य शुरु गर्न १५ करोड विनियोजन गरिएको छ।

बृह्त्तर चक्रपथ निर्माण कार्य निरन्तरता अन्तर्गत एक्लेखेत राजदेवी, मजुवा दोभानचौर खण्डको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको उहाँले वताउनुभयो । हेटौंडा १७ कठायत चोक देखि बालबोध माबिसम्मको सडक स्तरोन्नतिका लागि ३ करोड विनियोजन गरिएको छ। कर्रा करिडोर निर्माण निरन्तरताको लागि १ करोड ५० लाख विनियोजन गरिएको छ।

संघीय सरकार, प्रदेश सरकार,जिल्ला समन्वय समिति एवम् अन्य संघ संस्था हरूसंगको साझेदारीमा संचालन हुने योजनाको लागि ४ करोड ५० लाख विनियोजन गरिएको उहाँले वताउनुभयो । वडा तथा वस्ति स्तरीय पूर्वाधार योजनाको लागि ३२ करोड ७० लाख विनियोजन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*