सरकार आफ्नै कारणले ढल्छ : महेश बस्नेत

निरन्तर न्यूज
८ असार २०७९, बुधबार ०८:१८

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् । बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँच दलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपालले आज (मंगलबार) आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दैै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको पनि दाबी गरे । बस्नेतले भने, ‘सरकारको बारेमा गम्भीर समिक्षा गर्न जरुरी छ । यो सरकार जनमतको कारण जन्मिएको होईन, परमादेशबाट जन्मिएको सरकार भएकोले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन । तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो । यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ ।’

बजेटको अघिल्लो दिन विषय विज्ञका नाममा ठूलो घरानाका मान्छे मन्त्रालय छिरेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर अपराध गरेकोउनले आरोप लगाए । उनले भने, ‘हिजो ओम्नी, यति भन्नेहरु आज मुखमा पट्टी बाँधेर बसेका छन् । बजेट निर्माणको बेला भएको चलखेल अपराधको विषय हो, त्यसमा कमिसनको ठूलो खेल देखिन्छ । वायर र स्यानिटरी प्याडमा ठूलो छुट दिईएको छ । नेपाली स्वदेशी उद्योग बन्द गर्ने अवस्थामा पुर्याईएको छ । आज उद्योगी तथा व्यवसायी सबै निराश हुने अवस्थामा पुगेका छन् ।’

एमालेले अर्थमन्त्रीको राजीनामा मागेर सदनमा सशक्त आवाज उठाएको स्मरण गराउँदै उनले मूल्यवृद्धिको विरोधमा आफ्नो पार्टीनिकट विद्यार्थी संगठन आन्दोलनमा उत्रिएको सुनाए । तर, विद्यार्थी आन्दोलनमा सरकार दमनमा उत्रिएको उनको आरोप छ ।

बस्नेतले वर्तमान सरकार बनेपछि मुलुकमा महिला हिंसा व्यापक रुपमा बढेको पनि उल्लेख गरे । उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायु सेवा निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीलाई अश्लील गाली गरेको र दुव्र्यवहार गरेको कुरा बाहिर आउँदापनि पार्टी र प्रधानमन्त्रीले आलेलाई कारबाही गर्न नसकेको गुनासो गरेका छन् ।
बस्नेतले भने, ‘पर्यटनमन्त्रीको राजीनामा आउला भनेको त, उल्टै कुटाई खाने युवराज अधिकारी हिजो निलम्बनमा परे । लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वली व्यक्तिको घरमा जान्छिन् र हातपातको तहमा उत्रिन्छन् । तर, उनलाई कारबाही गर्ने वा राजीनामा दिने कुरै छैन् । वलीलाई कारबाही गर्नको लागि प्रदेश सरकारले कुनै पहल लिएन । यो दुःखद् विषय हो । ’

बस्नेतले एमालेविहीन राज्यको कल्पना गर्ने कुरामा गठबन्धन लागिपरेको आरोप लगाए । उनले अहिले पाँच दलीय गठबन्धनभित्र ठूलो समस्या रहेको दाबी गरे । उनले भने,‘यो गठबन्धन कुहिएको फर्सीजस्तै छ । हेर्दा सद्धेजस्तो देखिन्छ । तर यसको भेट्नो कुहिएको छ । उपेन्द्र यादवको पार्टी विभाजनको तहमा पुगेको छ । कांग्रेस र माओवादी भित्रपनि ठूलो समस्या छ । यो गठबन्धन आँफै भत्किने अवस्थामा पुगेको छ । एमालेलाई नयाँ सरकार बनाउने कुरामा खास धेरै फुर्सद छैन् । ’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*