बागमती प्रदेशसभाकाे बैठक जेठ ५ गतेकाे लागि आव्हान

निरन्तर न्यूज
२९ बैशाख २०८२, सोमबार ०७:३६

बागमती प्रदेशसभाकाे बैठक जेठ ५ गतेकाे लागि आव्हान

हेटौँडा । बागमती प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन जेठ ५ गतेका लागि आह्वान भएको छ । प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ ५ गतेका १६ औँ अधिवेशनका लागि आह्वान गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा उहाँले जेठ ५ गते बिहान ११ बजेका लागि बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन बैठक आह्वान गरेकाे प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत निशा न्याैपानेले जानकारी दिइन् ।

प्रदेश सरकारको बैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन गत चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्षी दलहरु बीचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठक समेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो । प्रदेशसभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन भने प्रदेशसभामा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन समेत होल्ड भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु