वडाध्यक्षमाथि आक्रमणकाे मकवानपुरका ७ दलको विरोध

हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि भएको घटनाको मकवानपुरका ७ राजनैतिक दलले विरोध गर्दै ध्यानाकर्षण भएको जनाएका छन्।
बुधबार ७ दलका प्रतिनिधिको हस्ताक्षरमा संयुक्त विज्ञप्ति निकाल्दै घटनाको विरोध र ध्यानाकर्षण भएको जनाइएको हो।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), राप्रपा, राप्रपा नेपाल, रास्वपाले जनप्रतिनिधि माथिको अमानवीय आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथिकै प्रहार भएको निष्कर्ष निकालेको हो ।
उनीहरूले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । समस्या समाधानको उत्तम उपाय सहकार्य र संवादलाई समेत उपहास गरी जनप्रतिनिधि माथि भएको अभद्र एवम् अमानवीय व्यवहार प्रति घोर आपत्ती प्रकट गरेको छ । न्यौपानेमाथि असार ३ गते दिउँसो ४ः३० बजेको समयमा कार्यकक्षमै पुगेका कालो पोशाकमा मोटरसाइकलमा आएका समूहले मोबिल छ्याप्दै हातपात गरेका थिए। ।
यता प्रेस युनियन मकवानपुर र रिपोटर्स क्लब मकवानपुरले पनि विज्ञप्ति जारी गरि घटनाको विरोध गरेका छन्।
यस घटनाले मकवानपुरको सुरक्षामा चुनौती प्रकट गरेको छ। केही दिन अघि हेटौंडा १० राप्तीरोडका एक जना व्यवसायीलाई केही युवाहरूको समूहले कुटपिट गरेका थिए ।