नेपालखबर र बिजमाण्डुले समाचार हटाउनु नपर्ने

सन्तोषनारायणको निवेदन खारेज
निरन्तर न्यूज
६ असार २०८२, शुक्रबार ०८:२२

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमाण्डु डटकमविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन काठमाडौँ जिल्ला अदालतले खारेज गरिदिएको छ।

जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले दुई दिनको सुनुवाइपछि यो फैसला गरेको हो।

यो फैसलासँगै नेपालखबर र बिजमान्डुले श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउनु नपर्ने भएको छ। योसँगै न्यायाधीश पिताम्बर शर्माको इजलासले जेठ २७ मा जारी गरेको समाचार हटाउने आदेश पनि खारेज भएको छ।

श्रेष्ठले बिचौलियामार्फत घुस मागेको विषयका समाचार प्रकाशन भएपछि नेपालखबर र बिजमान्डुविरुद्ध श्रेष्ठले निवेदन दायर गरेका थिए।

निषाधाज्ञाको निवेदनमा एकपक्षीय सुनुवाइपछि गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

जेठ २७ गते न्यायाधीश शर्माको इजलासले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबारे प्रकाशित समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो। तर नेपालखबर र बिजमान्डुले भने श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले प्रश्न उठ्नु स्वाभाविक भएको बताउँदै निवेदन नै खारेजीको माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु