भदाै मसान्तसम्म सडक नखन्नु : सडक डिभिजन हेटौंडा

निरन्तर न्यूज
७ असार २०८२, शनिबार ०८:२४

हेटौंडा ।  सडक डिभिजन हेटौंडाले वर्षाहुने समय असार देखि भाद्र मसान्तसम्म सडक खन्न रोक लगाएको छ ।

कार्यालयका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले एक  सूचना जारी गरी वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने बारे जानकारी गराएको हो ।  सूचनामा ३ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको उल्लेख गरिएकाे छ ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन सम्भव नरहने र सडक पनि थप बिग्रिँदै जाने भएकाले यस अवधिभरि कुनै पनि सडक खन्न स्वीकृति प्रदान गरिने छैन,’ सूचनामा छ ।

यसरी सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही हुने समेत कार्यालयले स्पष्ट पारेको छ । यस कार्यमा सबै पक्षकाे सहयाेगकाे अपेक्षा समेत डिभिजनले गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु