बकैयामा नीति कार्यक्रम र बजेटका लागि सुझाव सङकलन

हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक बर्ष २०८२-०८३ को नीति तथा कार्यक्रम एवम् बजेटका लागि सुझाव सङकलन गरेको छ ।
पालिकाले सार्वजनिक सूचनामार्फत सुझाव दिनका लागि सरोकारवालाहरुलाई आग्रह गरेपश्चात सोमवार पालिकामा आयोजित कार्यक्रममा सहभागिबाट सुझाव सङ्कलन गरेको हो ।
पालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्रका प्रतिनिधि सहितकाले सुझाव दिएका हुन । उनीहरुले आवासीय विद्यालय, तरकारी, फलफूल र मुख्य आम्दानीको दिगोपनाको लागि विशेष पहल गर्नुपर्ने, भौतिक पूर्वाधार क्षेत्रमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने वा अर्काे जिल्लामा जोड्ने सडक व्यवस्थित बनाउन पालिकाले बजेट विनियोजन गर्नु पर्ने, नदी, खोलानाला नियन्त्रणको लागि गुरुयोजना निर्माण, धार्मिक पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्धन गरी आन्तरिक राजश्व वृद्धि, विगतका योजनालाई अध्ययन गरी आगामी आवमा आवश्यक योजना छनोट गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै सामाजिक संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा एकीकृत सामाजिक सुधारको कार्यक्रम समावेश हुनुपर्ने र विपद व्यवस्थापनको लागि पूर्व तयारीको लागि संघ, प्रदेश र स्थानीय तहको एकद्घार प्रणाली हुनुपर्ने स्थानीयको माग रहेको छ ।
युवा खेलकुल र युवा स्वरोजगारमूलक कार्यक्रम, शैक्षिक क्षेत्र सुधार, खानेपानी, स्वास्थ्य लगायतका क्षेत्र सुधार गर्नुपर्ने माग राखिएको छ । पालिकाले भौतिक रुपमा साथै जुम मार्फत पनि सुझाव सङ्कलन गरेको थियो । पालिकाको सामाजिक सञ्जाल फेसबुकमा आएका जिज्ञासाको पनि समाधान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले गाउँपालिकाको मात्र स्रोतमा आवासीय विद्यालय सञ्चालन गर्न सम्भव नरहेको भन्दै प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गरिने बताए । बकैया गाउँपालिकाको सहकार्य र अन्य सस्थाको सहयोगमा बकैया ५ अवस्थित गितावर आधारभूत विद्यालयमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको बताउँदै सञ्चालनमा समस्या आएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले सिमित स्रोत साधनबाट सबैको माग पुरा हुन नसक्ने भएकाले संघ र प्रदेश सरकार सँग पनि सहकार्य गर्ने बताए । उनले लक्ष्य लक्षित वर्गसम्म पुर्याउन काम गरेको बताए । हाम्रो गाउँ पालिका राम्रो गाउँपालिका बनाउन सबै लाग्नुपर्ने बताउँदै जनताको आवश्यकता पुरा गर्न लागि रहेको बताए । पालिकामा उत्पादन भएको कृषि उपजलाई भण्डारण गर्न शित भण्डार निर्माण गर्ने उनले बताए । मधेश प्रदेश हुँदै हेटौँडा आउनुपर्ने बाध्यतालाई पनि हटाउने प्रयास गर्न लाग्ने उनको भनाई छ । सरकार परिवर्तनका कारण पनि विकासमा धेरै असर परिरहेको उनले चिन्ता गरे ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशाककीय अधिकृत महेश श्रेष्ठ, योजना शाखा प्रमुख मिलन दुलाल, कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।