बागमतीकाे बजेट बारे पत्रकार असन्तुष्ट, सञ्चारमैत्री नभए संघर्ष गर्ने

हेटौडा। बागमती प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति पत्रकार महासंघ लगायत सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले गम्भीर असहमति जनाएका छन्। सञ्चारमैत्री बजेट निर्माणका लागि पटक–पटक ध्यानाकर्षण गरिँदा समेत श्रमजिवी पत्रकार र सञ्चार क्षेत्रलाई बेवास्ता गरेर बजेट ल्याइएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन्।
प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा लोककल्याणकारी विज्ञापन बजेटमा ८५ प्रतिशत कटौती गरेको, पत्रकार संगठनहरूमार्फत सञ्चालित क्षमता विकास कार्यक्रमहरू खारेज गरिएको तथा श्रमजिवी पत्रकारका हितमा सञ्चालित कार्यक्रम कटौती गरिएकोमा उनीहरूले गम्भीर विरोध जनाएका छन्।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, फोनिज, ब्रोडकास्टिङ एशोसिएसन, सामुदायिक रेडियो प्रशारक संघ, स्वतन्त्र पत्रकार संघ, सञ्चारिका समूह, राष्ट्रिय फोटो पत्रकार समूह लगायतका संगठनले संयुक्त रूपमा मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला मन्त्रीलाई बजेट संशोधन गरी सञ्चारमैत्री बनाउन माग गरेका छन्।
यदि सञ्चार क्षेत्रलाई निषेध गरेर बजेट पारित भएमा प्रदेश सरकारका कार्यक्रमहरू बहिष्कार गर्दै प्रकाशन/प्रसारणसमेत नगर्नेसम्मको संघर्षमा जानुपर्ने चेतावनी उनीहरूले दिएका छन्।