हिन्दुत्वको राजनीति र धर्मसुधार आन्दोलन
चाहेर नचाहेर ‘धर्म’ सार्वजनिक बहसमा तानिँदै आएको छ । धर्ममाथि जुन टिप्पणी हुँदैछन्– ती सबैले धर्मलाई एउटै अर्थमा लिएको देखिँदैन । ‘धर्म’ शब्दको अर्थ नै फरकफरक आयामबाट ग्रहण गरेर छ्यासमिस बहस गर्नुको खासै महत्व रहँदैन । ‘धर्म’ लाई कुन अर्थ र मर्ममा बुझिएको हो, त्यो प्रष्ट हुन जरुरी छ । धर्मको अर्थ केलाउँदा मुख्य ४ वटा भाव देखिन्छन् । एक– कुनै चिज वा अस्तित्वको प्राकृत/मौलिक चरित्र वा कर्तव्य । जस्तै, आगोको धर्म बल्नु, पोल्नु वा ताप दिनु । नुनको धर्म नुनिलो हुनु । पुलिसको धर्म सुरक्षा दिनु । शिक्षकको धर्म ज्ञान शिक्षा दिनु वा ज्ञान हस्तान्तरण...



















