कैलालीको गौरिगङ्गाका एक युवाको प्रचण्डलाई खुल्ला पत्र

निरन्तर न्यूज
१५ श्रावण २०७६, बुधबार ११:१८

सर्बप्रथम त १० बर्षे जनयुद्धका महान र नेतृत्व गर्ने व्यक्ति प्रचण्ड जि लाई नमस्कार !

हुन त तपाईलाई प्रश्न गर्ने हैसियत मेरो छैन होला तर के गर्ने तपाई पनि यो देशको नेतृत्व गरेको अहिलेको नेपा कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष हुनुहुन्छ ।

धेरै त मलाई थाहा छैन । मैले तपाईलाइ २०६२ सालमा जब तपाई धनगढी आउनु भएको थियो त्यति बेला तपाईको अनुहार हेर्ने अवसर पाए । म आफ्नो गाउँ अन्डैया बाट त्यति बेलाको यातायात को साधन ट्याक्टर चढेर धनगढी सम्म आउने मौका पाएको थिए । यहि क्रममा तपाइको केही शब्द सुन्ने मौका समेत मिल्यो ।

त्यस पछि मैले तपाईको बारेमा जान्न मन लागेर तपाईको जीवनीको अध्ययन गरे । तपाईको २०११ साल साल मंसिर २६ गते कास्की जिल्लामा जन्म भएको रहेछ । तपाईले २०२८ सालमा राजनीतिमा प्रवेश गरेर राजनीतिको सुरुवात गर्नु भयो । २०३९ सालमा मोहन बिक्रम सिंहले नेतृत्व गर्नुभएको कम्युनिष्ट पार्टीमा प्रवेश गर्नु भयो । त्यही क्रम जारी हुँदै गर्दा फेरि तपाई मोहन बैद्य (किरण) ले नेतृत्व गर्नु भएको नेकपा मसालमा प्रवेश गरेसँगै २०४६ सालमा पार्टीको महामन्त्री हुँदै सक्रिय राजनीतिक यात्राको थालनी गर्नु भयो । त्यही क्रममा २०५२ सालदेखि २०६२ सालसम्मको १० बर्षे जनयुद्धको नेतृत्व गर्नु भयो । जनमुक्ति सेनाको सुप्रिमो कमाण्डर सहित पार्टी अध्यक्षको शक्तिशाली पदमा बस्नुभयो ।

त्यही राजनीतिक यात्राका  क्रममा हिमालमा बस्ने गरिब भोटे, शेर्पा पहाडमा बस्ने गरिब बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, मगर साथै तराईमा बस्ने चौधरी, मधेसमा बस्ने मधेसीलाई उहाँहरुको हकहित र अधिकारको लागी लड्छु भन्ने बाचा कसम पनि खानु भयो । तर बिडम्बना आज तपाई आफ्नो परिवारको लागि बिश्वको जुन सुकै देशको महङ्गो होटेलमा बस्न सक्ने हैसियत छ।

हिजो १० बर्ष जनयुद्ध लडेका ती सिपाही जसमध्ये मेरै आफ्नै दाइको आज के छ, उहाँको स्थिती कस्तो छ ? त्यो तपाईलाई मत्लब छैन, मत्लब राख्ने तपाँइले कोशिस पनि कहिले गर्नुभएन । हिजो देखाएका ती सपना आज कुन नदी, कुन खाल्डो, कुन पोखरी र कुन समुन्द्रमा फाल्नुभयो ?

तपाईलाई रातदिन सुरक्षा दिने ती सिपाहीहरुको हालत के छ त्यो तपाईलाई थाहा छ र ? आज तपाई र तपाइको सम्पूर्ण परिवार राज्यले पाउने हरेक सेवा सुबिधामा रमाइलो गर्दै हुनुहुन्छ । त्यसै माथि आज तपाईको पेट दुख्दा दुबई, अमेरिका, जापान जहाँ पनि जान सक्नु हुन्छ । तर ती तपाईको लागि लडेका सिपाही आज ज्वरो आउँदा सिटामोल खान नपाएर मर्न बाध्य भएका छन् । यहि हो त १० बर्षे जनयुद्धको उपलब्धि प्रचण्ड जि ?

हुँदा हुँदै देशको विकास गर्नु पर्छ भनेर आफ्नो सब स्वार्थ त्यागेर हिडेका बाबुराम अनि भ्रष्ट र दलाललाई कार्बाही गर्नु पर्छ भनी हिडेका बिप्लब लाई कस्तो व्यबहार गर्दैछौ, त्यो तपाईलाई थाहा नै छ। प्रचण्ड जि एक दिन तपाईलाई त्यो जनयुद्धको लागि ज्यान दिने अनि तपाईको लागि सुरक्षा गर्ने व्यक्तिको आँशु तपाईलाई लाग्ने छ। समय अझै बाँकी छ सहि समयमा सहि निर्णय गरेर १० बर्ष जनयुद्धमा देखाएको सपनालाई साकार पार्न फेरि एक पटक बोल्ड निर्णय लिएर देश निर्माणमा जुट्न अनुरोध गर्दछु ।

करण साउद
गौरिगङ्गा नगरपालिका वडा नम्बर ५ अण्डैया, कैलाली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*