अटो दुर्घटनामा मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत

निरन्तर न्यूज
२२ मंसिर २०७६, आईतवार ११:५६

चितवन । चितवनको राप्ती नगरपालिका– मा अटो दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ ।

पूर्वी चितवनको भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा हिजो साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएका चार जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा पर्वतको कुस्मा नगरपालिका पिपलटार स्थायी घर भइ हाल खैरहनी नगरपालिका–८ बस्ने वर्ष ४९ का श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ बस्ने वर्ष ४२ का विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ बस्ने वर्ष २५ की मिना खड्का, राप्ती नगरपालिका–९ बस्ने वर्ष ३२ की माया तामाङ रहेका छन् । अर्का एक महिलाको सनाखत भएको छैन ।

तिवारी, भण्डारी, खड्काको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो भने तामाङ र अर्का एक महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृतक सबैको शव पोष्टमार्टमका लागि भरतपुर शव गृहमा राखिएको छ ।

मृत्यु हुनेमध्ये २ जना पुरुष र ३ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अटो आफै अनियन्त्रित भइ दुर्घटना भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*