सवारी दुर्घटना हुँदा १४ वर्षीय बालकको मृत्यु

निरन्तर न्यूज
२४ मंसिर २०७६, मंगलवार १४:३७

रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान नेपाली सेनाको गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक १४ वर्षीय बालकको मृत्यु भएको छ भने पछाडी सवार एक बालक घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएका बालकको सवारी चालक अनुमतिपत्र छैन । चालक अनुमतिपत्र नभए पनि मोटरसाइकल लिएर सडकमा निस्किएका उनको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार १३ वर्षीय अर्का बालक घाइते भएका छन् ।

प्रहरीका अनुसार रामेछाप ८ सल्लेका जगतबहादुर तामाङको छोरा सुशिलको दुर्घटनामा मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजे नयाँ गोरख गण रामेछापको बा१ग १०७० नम्बरको गाडी र बा३८प ३९४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका १३ बर्षीय बालक रामकृष्ण तामाङको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

रामेछापबाट मन्थली आउँदै गरेको नेपाली सेनाको गाडी र रामेछापतर्फ जाँदै गरेको मोटरसाइकल आपसमा ठोक्किएको हो । सेनाको गाडी चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*