होलीलाई मर्यादित रुपमा मनाऔँ : प्रधानमन्त्री देउवा

निरन्तर न्यूज
३ चैत्र २०७८, बिहीबार १२:१७

काठमाण्डाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अरुलाई असर नहुनेगरी मर्यादित रुपमा फागुपूर्णिमा (होली) पर्व मनाउन सबैमा आग्रह गरेका छन्।

आज परेको होलीको अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा प्रधानमन्त्री देउवाले सुख, शान्ति तथा समृद्धिको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले फागु पूर्णिमा अर्थात होली पर्वको विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । देउवाले सन्देशमार्फत होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेका छन्।

फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली एवं पहाडी जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा अबीर खेल्दै फागुपूर्णिमा मनाइन्छ।

प्रधानमन्त्री देउवाले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरुलाई अवरोध नहुने गरी मर्यादितरूपमा होली पर्व मनाउन आग्रहसमेत गरेका छन्।

साथै उनले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*