एपिएफ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश

पोखरा । साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफमै लिएको अग्रतालाई जोगाउँदै एपिएफ सेमिफाइनल पुग्न सफल भएको हो । एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे ।
खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए ।
सहिद स्मारक ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु गर्ने यसअघि नै एन्फाले घोषणा गरिसकेको छ । पहिलो पटक गत वर्ष आहा रारा गोल्डकप जितेको एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबमध्ये एकको पुस २० गते को सामना गर्नेछ ।
प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । विजेता टोलीले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।